चितवनमै पहिलो सरकारी माटो परिक्षण प्रयोगशाला खैरहनिमा,कृषकलाइ राहत मिल्ने बिश्वास
चितवन, २० मंसिर ।
चितवनमा खैरहनी नगरपालिकाले माटो परिक्षण प्रयोगशाला संचालनमा ल्याएको छ । बिश्व माटो दिवसको अवसर पारेर आज शनिबार प्रयोगशालाको उद्घाटन गरिएको हो । जिल्लामा स्थानीय पालिका आफैले संचालनमा ल्याएको यो प्रयोगशाला पहिलो हो । प्रयोगशालाको एक कार्यक्रमका बीच जिल्ला समन्वय समिती चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटिले उद्घाटन गरे भने नगर प्रमुख लालमणी चौधरीले माटो ल्याव टेक्निसियनलाइ हस्तान्तरण गरे । सो अवसरमा जिल्ला समन्वय समिती प्रमुख डल्लाकोटिले माटोको उर्बराशक्ति नास भइरहेका बेला स्थापना गरिएको प्रयोगशालाले कृषकलाइ फाइदा पुग्ने बिश्वास व्यक्त गरे । रासायनिक मलका कारण माटोको उर्वराशक्ती घट्दै गएको छ जिसस प्रमुख डल्लाकोटिले भने – माटोको अवस्था बिग्रदै जादा उत्पादन पनि घटिरहेको छ,सुधारका लागि माटो परिक्षणनै उपचार विधि हो ।
जिसस प्रमुख डल्लाकोटिले नेपाल कृषिमै आधारित रहेकाले स्थानीय तहले पनि कृषिलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए । खैरहनी नगर प्रमुख लालमणी चौधरीले बर्सौ देखि माटोको परिक्षण बिना खेती गर्दा उर्वराशक्ती घट्दै गएको बताए । माटोको गुण घट्दै छ नगर प्रमुख चौधरीले भने – वडा वडाले माटो परिक्षण कार्यक्रम संचालन गर्नु पर्छ । प्रयोगशालामा माटोको नाइट्रोजन, फस्फोरस,पोटास,पिएच,माटोको बनौट लगायत परिक्षण हुने नगरपालिका कृषि शाखा प्रमुख कृषि अधिकृत दिपेन्द्र अर्यालले जानकारी दिए । उनका अनुसार प्रयोगशालामा डिजिटल मिटर,फ्लेम फोटोमिटर,इनकुभेटर,डवल विम स्पेक्टोफोटोमिटर लगायत उपकरण छ ।
प्रयोगशालाबाट खैरहनी नगरपालिका र अन्य स्थानिय तहका कृषकले पनि माटो परिक्षण सेवा लिन पाउने कृषि शाखाका प्राबिधिक सहायक ध्रुव आचार्यले बताए । प्रयोगशालाका लागि खैरहनी नगरपालिकालेनै ल्याव टेक्निसियनमा मनिष पौडेललाई नियुक्त गरेको छ । उद्घाटन कार्यक्रममा वडा अध्यक्षहरु टिकादत्त इटनी,देवबहादुर बस्नेत,प्रतिमा कार्की,रामशरण पाण्डे, टेकबहादुर थापा ,कारिराम चौधरी,रामपुर कृषि क्याम्पस प्रमुख मिलन सुवेदी लगायतको उपस्थिति रहेको थियो ।