हात नमिलाएपछि सभामुख न्यान्सी पेलोसीले च्यातिदिइन् अमेरिकी राष्ट्रपति ट्रम्पको भाषण

एजेन्सी,२२ माघ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सभामुख न्यान्सी पेलोसीबीचको तिक्तता फेरि एकपटक छताछुल्ल भएको छ । संसदमा ट्रम्पले हात नमिलाएपछि पेलोसीले उनको भाषण कपी नै च्यातिदिएकी छन् । सदनमा स्टेट अफ द युनियनसम्बन्धी भाषणको क्रममा सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पसँग हात मिलाउन खोज्दा राष्ट्रपति ट्रम्पले उनलाई बेवास्ता गरेका थिए । एक महिनाभन्दा बढी समयपछि बसेको बैठकमा दुवैले एक अर्काप्रति आक्रोश देखाएका थिए ।

राष्ट्रपति ट्रम्पले आफ्नो भाषण सकिसकेपछि उनको पछाडि उभिएकी क्यालिफोर्नियाका डेमोक्र्याटकी पेलोसीले ट्रम्पको भाषण च्यातिदिएकी हुन्। पेलोसीसँगको नजिकको एक स्रोतले सीएनएनको डाना बासलाई दिएको जानकारीअनुसार पेलोसीले राष्ट्रपति ट्रम्पको भाषण च्यात्नुको पछाडी कुनै योजना थिएन, तर राष्ट्रपति ट्रम्पको सम्बोधन गर्ने तरिका ठिक नभएको भएर पेलोसीले आक्रोशमा आएर भाषण कपी च्यातेकी हुन्।