सौराहाका होटल रेस्टुरेन्टको स्तरीकरण ( कति वटा कुन वर्गमा )

सौराहाका होटल रेस्टुरेन्टको स्तरीकरण ( कति वटा कुन वर्गमा )

माघ २२ गते । पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल र रेस्टुरेन्टहरुको स्तरीकरणको कामले तीव्रता पाएको छ । पहिलो चरणमा २० वटाको स्तर वर्गिकरण गरेकोमा दोश्रो चरणमा ४४ वटाको स्तरीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले सरोकारवाला निकायहरुको सलग्नतामा मंगलवार र बुधवार अनुगमन गरेको थियो । अनुगमनसंगै होटल र रेस्टुरेन्टहरुको स्तरीकरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख विक्की राउतले जानकारी दिए ।
दोश्रो चरणमा ५४ वटा होटल र रेस्टुरेन्टको अनुगमन गरिएकोमा १० वटा भने स्तरीकरणमा पर्न सकेनन् । अनुगमन गरिएका मध्ये कुनै पनि होटल तथा रेस्टुरेन्ट अतिउत्तममा पर्न सकेनन् अर्थात हरियो स्टीकरमा तीन तारा पाउन नसकेको राउतले वताए । ६ वटा उत्तम अर्थात हरियो स्टीकरमा दुई तारा ,१८ वटा मध्यम अर्थात हरियो स्टीकरमा एक तारा र २० वटा सन्तोषजनक अर्थात पहेंलो स्टीकर पाएको राउतले वताए । कुल १०० अंकमा १० वटा होटल तथा रेस्टुरेन्टले भने ५० अंक पनि पाउन सकेनन् । ५० अंक नपाउँदा स्तरीकरणमा पर्दैनन् । राउतका अनुसार अनुगमन गरिएका मध्ये १० वटा होटल तथा रेस्टुरेन्टले पूर्वाधार, सरसफाईमा सुधार तथा दक्ष तालिम प्राप्त कुकको व्यवस्था गर्नु पर्ने देखिएको छ ।
तेश्रो चरणमा वाँकी रहेकाहरुको स्तरीकरण गरिने राउतले वताए । स्तरीकरणमा चित्त नवुझे सुधार गरेर पुन अनुगमनका लागि आग्रह गर्न सकिने कार्यालयका खाद्य निरीक्षक प्रदिप काफ्ले वताए । सौराहामा १ सय १० भन्दा वढि होटल तथा ६० भन्दा वढि रेस्टुरेन्ट रहेका छन् । भ्रमण वर्षलाई सफल वनाउन समेत स्थानीय सरकारको रुपमा रहेको सम्वन्धीत नगरपालिकाले पनि निरन्तर अनुगमन गरे स्तरीकरणले सार्थकता पाउने डिभिजन कार्यालयका प्रमुख राउतको भनाई छ । अनुगमन तथा स्तरीकरण कार्यमा कार्यालयका प्रमुख राउतसंगै खाद्य निरीक्षक प्रदिप काफ्ले, स्थानीय तहका प्रतिनिधी,क्षेत्रीय होटल संघका,रेवान सौराहा,प्रहरी,उपभोक्ता अधिकारहित संरक्षण मंचका प्रतिनिधी,पत्रकार,प्रहरी लगायतको उपस्थिती रहेको थियो ।