इरानका २३ सांसदलाई कोरोना भाइरस, ७७ संक्रमितको मृत्यु

इरानका २३ सांसदलाई कोरोना भाइरस, ७७ संक्रमितको मृत्यु

तेहरान,२२ फागुन ।

इरानमा नोभेल कोरोना भाइरसबाट २३ जना सांसद संक्रमित भएका छन् । हालसम्म नोभेल कोरोना भाइरस अर्थात कोभिड(१९ बाट ७७ जनाको मृत्यु भएको उच्च सरकारी अधिकारीले जनाएको दी गार्जियनमा उल्लेख छ ।

इरानमा ३ मार्चसम्म कोरोनाबाट जम्मा दुई हजार ३३७ जना संक्रमित भएको इरानी स्वास्थ्य अधिकारीले मंगलबार जानकारी दिएका छन् ।

इरानका उपस्वास्थ्य मन्त्री अलिरेजा रइसीले सरकारी सञ्‍चारमाध्यमसँग भने, ‘पछिल्लो २४ घण्टाको अवधिमा ८३५ जना नयाँ संक्रमित भएको र ११ जनाको मृत्यु भएको छ ।’

चीनबाहिर कोरोनाबाट मृत्यु हुनेमा इरानमा धेरै भएको बताइएको छ ।

सांसदहरुले भने इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढी भएको दाबी गरिरहेका छन् । तर, इरानका सर्वोच्च नेता अतोतल्लाह अली खामेनीले भने मृत्यु हुनेको संख्या सार्वजनिक गर्ने विषय पूर्ण पारदर्शी भएको बताएका छन् । भाइरसका कारण उच्च राजनीतिक नेताहरु पनि संक्रमित भएको उनले बताएका छन् ।

सर्वोच्च नेतासँग नजिक रहेका एकजना अधिकारीको पनि कोरोनाबाट मृत्यु भएको बताइएको छ । त्यसैगरी इरानको आपतकालीन स्वास्थ्य सेवाका अधिकारीलाई पनि कोरोना संक्रमण भएको बताइएको छ ।

सर्वोच्च नेता अतोतल्लाह खामेनीले सरकारी अधिकारीले जारी गरेको सल्लाहलाई पालना गर्न कडा चेतावनी दिएका छन् । – दी गार्जियन