तनहुँले चाडपर्वलाई लक्षित गरी पाँच स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याउने

दमौली, २० असोज

जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्वलाई लक्षित गरी पाँच स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ । यात्रुलाई पर्न सक्ने समस्या तत्कालै समाधान गर्ने उद्देश्यले प्रहरीले पृथ्वीराजमार्गका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनको तयारी गरेको हो ।

मुग्लिङदेखि कोत्रेसम्मका पाँच ठाउँमा स्थापना हुने यात्रु सहायता कक्षले यात्रुहरुका गुनासो समाधान गर्ने प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आँबुखैरेनीको पुलजीप, बन्दीपुरको डुम्रे, व्यासको दमौली, म्याग्देको थर्पु र शुक्लागण्डकीको कोत्रेमा यस्ता कक्ष स्थापना हुनेछन् । “चाडपर्वमा घर फर्किने यात्रुहरुको चाप हुन्छ, जसले गर्दा यात्रु ठगिने र यात्रुले दुःख पाउन सक्छन्,” उहाँले भन्नुभयो, “सर्वसाधारणको यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गर्न लागेका हौ ।” लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुका अलवा सबै सर्वसाधारणले सहायता कक्षबाट सहयोग पाउनेछन् ।

प्रहरीले नजिकिदै गरेको नेपालीहरुको महान् पर्वलाई ध्यानमा राखेर सुरक्षा योजना समेत निर्माण गरेको छ चाडपर्वको समयमा बढी आपराधिक घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो । चाडपर्वका समयमा बढी सवारी साधन सञ्चालन हुने भएकाले यात्रुहरुलाई सुरक्षित रुपमा यात्रा गर्ने व्यवस्था मिलाउने, सचेतना लगायतका कार्यक्रम सञ्चालन गरिने पौडेलले जानकारी दिनुभयो । “बढी भिडभाड हुँदा कोभिडको जोखिम रहने भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्छौ,” उहाँले भन्नुभयो, “सबैलाई सुरक्षित तरिकाले गन्तव्यसम्म पु¥याउन सहयोग गर्नु प्रहरीको कर्तव्य हो ।” चाडपर्वका क्रममा हुन सक्ने घटना न्यूनीकरणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने र राति १० बजेपछि मादक पदार्थ सेवन गरी होहल्ला गर्नेलाई पक्राउ गरिने जनाइएको छ ।

होटल तथा रेष्टुरेष्टलाई पनि समय निर्धारण गरेर व्यवस्थित बनाउन पहल गरिने छ । सुरक्षा योजनामा चाडपर्वको समयमा सर्वसाधारणहरु भेला हुन सक्ने सार्वजनिक स्थानको सुरक्षा स्थिति सामान्य बनाउने, अवाञ्छित क्रियाकलाप तथा घटनाहरु न्यूनिकरण गर्ने, रातको समयमा चोरी र होहल्ला बढी हुने हुँदा सो को नियन्त्रण गर्न र रातको समयमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने, जुवातासलाई नियन्त्रण गर्ने लगायत समेटिएको छ । प्रहरी उपरिक्षक पौडेलले आर्थिक अपराधका घटना हुन सक्ने सम्भावनालाई सुक्ष्म तरिकाले अध्ययन गरी योजना बनाएर प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ ।