पाँचथरमा भ्रुण हत्या अभियोगमा गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध जाहेरी

पाँचथरमा भ्रुण हत्या अभियोगमा गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध जाहेरी

काठमान्डौ,२३ माघ।

अपराध संहिता २०७४ अन्तर्गत गर्भपतनसम्बन्धी कसुरमा पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङसहित ७ जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सिद्धराज न्यौपानेले पीडित युवतीको तर्फबाट बुधबार जाहेरी दर्तापछि पक्राउ गर्नका लागि खोजतलासमा प्रहरी जुटेको बताए।

जिल्लाकै कुम्मायक गाउँपालिकाको यासोक बजारमा बस्दै आएकी १९ वर्षीया दलित युवतीको पेटमा रहेको २१ हप्ताको भ्रुण हत्या गर्न अध्यक्षले पनि दबाब दिएको अभियोग लागेको छ।

केही महिनाअघि ती युवती र कुम्मायक गाउँपालिकाकै वडा नम्बर ५, स्याबरुम्बा घर भएका रमेश खड्काबीच शारीरिक सम्बन्धपछि गर्भ बसेको युवतीको आफन्तले दाबी गर्दै आएका छन्।

रमेश र ती युवतीले केही महिना अगाडि सदरमुकाम फिदिमस्थित शिवालय मन्दिरमा गएर फूलमाला लगाएको पनि बताइएको छ। यासोक बजारमा रहेको मेगा बैंकमा कर्मचारीको रूपमा रमेश कार्यरत रहेको पनि खुलेको छ।

तर रमेशको परिवारले दलित युवती भन्दै अस्वीकार गरेको र अन्नतः युवतीको पेटमा रहेको २१ हप्ताको भ्रुण हत्या गर्न दबाब खड्का परिवारसहित अध्यक्ष चेम्जोङले दिएको पीडित परिवारको आरोप छ। रमेश भने फरार छन्।

युवतीले हालै सदरमुकाम फिदिमकै समर्पित अस्पतालमा गएर गर्भपतन गराएकी थिइन्। गर्भपतनपछि युवतीको स्वास्थ्यमा समस्या आएको र उपचारका लागि आर्थिक अभाव भएको बताइएको छ।