मेयरमाथि हातपात भएको विरोधमा सप्तरीका सबै स्थानीय तह बन्द

राजविराज,२३ माघ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहमाथि हातपात भएको विरोधमा बिहीबार जिल्लाका सबै स्थानीय तहले सेवा प्रवाह बन्द गरेका छन् । डाक्नेश्वरी ५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाने क्रममा बाटोमै केही व्यक्तिहरुको समूहले मंगलबार मेयर साहसहित कर्मचारीलाई रोकेर हातपात गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिए ।

मेयर साहले डाक्नेश्वरी नगरपालिका ५ का अमरेन्द्र यादव, अर्जुन यादव, महेश्वरप्रसाद यादव, वडानम्बर ३ बस्ने राजीवकुमार राय, ज्योतिषकुमार राय, वडानम्बर ७ बस्ने गजेन्द्रप्रसाद साहलगायतका व्यक्तिले हेलमेट, बाँसको भाटा लिएर आफूसहित गाडीमा रहेका कर्मचारीमाथि हमला गरेको बताएका छन् ।

मेयरमाथि भएको हमलाको विरोध गर्दै राजविराजस्थित जिल्ला समन्वय समितिमा बसेको बैठकले बिहीबार जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरेको थियो ।मेयरमाथि हमला गर्ने व्यक्तिलाई बिहीबार कारवाही प्रक्रिया अगाडि नबढाए लगातार स्थानीय तह बन्द गरिने जिल्ला समन्वय समितिका प्रमुख यादवले बताए।