चितवनको सौराहामा माघ २८ देखि १४औँ फुड फेष्टिबल हुँदै

चितवन, २३ माघ

चितवनको पर्यटकीय क्षेत्र सौराहामा ‘भ्यालेनटाइन डे’ को अवसरमा फुड फेस्टिबल आयोजना हुने भएको छ। क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाको आयोजनामा  १४ औँ सौराहा फुड फेस्टिबल आयोजना गर्न लागिएको हो।

माघ २८ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने फेष्टिबलको व्यवसायीहरु तयारीमा छन् । ‘भ्यालेनटाइन डे’ लाई लक्षित गरेर आयोजना गरिएको फेस्टिबलको तयारी तीव्र पारिएको छ । रेष्टुरेष्ट एण्ड बार एशोसियशन(रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा हुने सो फेष्टिबलको अवसरमा व्यवसायीले पर्यटकका लागि आर्कषक छुटको व्यवस्था मिलाएका छन् ।

पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुरेण्टमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । साना पर्यटन व्यवसायमा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ । फेष्टिबललाई भव्य बनाउन स्टल तथा मञ्च निर्माणको काम भइरहेको छ । स्वागत गेटलगायत प्रचारप्रसार र अन्य आन्तरिक तयारी तीव्र रुपमा भइरहेको अध्यक्ष खतिवडाले बताए । फेष्टिबलमा स्थानीय जातजाति तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, भेषभूषाको प्रदर्शन गरिने फुड फेष्टिबलका संयोजक धु्रव गिरीले बताए । फेष्टिबलअन्तर्गत सौराहाको हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडमकै रमाउने व्यवस्था मिलाइने छ ।

सडक किनारमै खाने र सडकका सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने कार्यक्रम रहेको गिरीले जानकारी दिए । फेष्टिबलअन्तर्गत मेयरकप भलिबल प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाहरुको म्युजिकल चेयर, बालबालिकाको बेलुन फुटाइ, डोरी तान्ने, अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटकलगायतका कार्यक्रम हुनेछन् ।

प्रेम दिवसको दिन फेष्टिबल प्रवेशका लागि काटिने टिकटबाट संकलन भएको पैसा मध्ये ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई दिइने आयोजकले जनाएको छ । भण्डै साढे दुई करोडको कारोबार हुने अनुमान गरिएको फुड फेष्टिबलमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक गिरीले बताए ।

फेष्टिबलको सांस्कृतिक कार्यक्रमअन्तर्गत पशुपति शर्मा, प्रकाश सपुत, सम्झना भण्डारी, दुर्गेश थापा, शान्ती श्री परियार, अलमोडा राना उप्रेती, सम्झना लामिछाने मगर, कमल खत्री, कृष्ण अखेली, दुर्गा सापकोटा, रमेशराज भट्टराई, डिला विक, रविन लामिछाने, राजन कार्की, अपेक्षा गिरी, जीवन दाहाल, चोलिन्द्र पौडेल, शितल शर्मा, अर्जुन सापकोटा, मनोज महतो, अनु बिक, डीबी लोप्चन, द न्याटिभ ब्याण्ड, बलराम सरकारलगायतका कलाकारको प्रस्तुति रहने कलाकार व्यवस्थापन समितिका संयोजक नविन नेपालले जानकारी दिए ।