कोरोना भाइरस : टेकुबाट भागेका व्यक्ति बिपी प्रतिष्ठानको आइसोलेसनमा

काठमाडौं,२३ फागुन ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट फरार भएका कोरोनो भाइरस संक्रमणको आंशका गरिएका व्यक्ति धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्। उनलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको बताइएको छ।

३९ वर्षीय ती व्यक्ति धरान विशालपथका हुन्। उनी बुधबार राती टेकुबाट फरार भएका थिए। अस्पतालबाट निस्केर उनी काठमाडौंका एक लजमा बसेका थिए। त्यसपछि उनी बिहीबार विमानबाट विराटनगर पुगेका थिए।

शुक्रराज अस्पतालले उनलाई आइसोलेसन वार्डमा राखेर उपचार गर्नुपर्ने सुझाब दिएको थियो। त्यसपछि उनी चिकित्सकहरुको आँखा छलेर त्यहाँबाट निस्केका थिए।

कोरोना आशंका गरिएको व्यक्ति अस्पतालबाट फरार भएको सूचना बाहिर आएपछि प्रहरीले उनको खोजी अगाडि बढाएको थियो। प्रहरीले उनको मोबाइललाई ट्रयाक गर्दै उनी भएको स्थान पत्ता लगाएको थियो।

बिपी प्रतिष्ठानको आइसोलेसनमा उपचाररत ती व्यक्तिका अनुसार आफूलाई श्रीमतीले प्रतिष्ठानमा लिएर आएको र काठमाडौंमा तनाव भएपछि धरान आएको प्रतिक्रिया दिएका छन्।

उनी कोरियाबाट २० गते नेपाल फर्केका हुन्। कोरिया कोरोना संक्रमण फैलिएको देश हो। शुक्रराज अस्पतालमा उनलाई दुई साता क्वारेन्टाइनमा राख्नुपर्ने र उनको नमुना प्रयोगशालामा पठाउनुपर्ने सुझाव दिइएको थियो। १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भनेपछि उनी अस्पतालबाट भागेका हुन्।