रत्ननगरका चेपाङहरुले पाए पक्की घर

रत्ननगरका चेपाङहरुले पाए पक्की घर

फागुन २३ गते । चितवनको रत्ननगर नगरपालिका १० जागृती टोलका चेपाङहरुले पक्की घर पाएका छन् । रत्ननगर नगरपालिका र रत्ननगर वडा नम्वर १० को वडा कार्यालयको सहयोगमा निर्माण गरिएको घर शुक्रवार एक कार्यक्रमका बीच उनीहरुलाई हस्तान्तरण गरिएको हो । जागृती टोलका विश्राम चेपाङ, कमला चेपाङ,जिते चेपाङ र फुलमाया चेपाङको परिवारलाई पक्की घर वनाई दिएको थियो । वडा कार्यालयको ३ लाख र नगरपालिकाको २ लाख ३८ हजार रुपैया सहयोगमा घर निर्माण गरिएको वडाध्यक्ष केशव आचार्यले वताए । वडा र नगरपालिकाको सहयोग वाहेक उनीहरुले जनश्रमदान गरेका छन् । चार घरका लागि छुट्टा छुट्टै शौचालय पनि निर्माण गरिएको छ । शौचालय निर्माणका लागि लुमन्ती आवासका लागि सहयोग समुहले सहयोग गरेको थियो ।

शुक्रवार एक कार्यक्रमका बीच चारै परिवारलाई रत्ननगरका मेयर नारायण वन,वडाध्यक्ष केशव आचार्यले साँचो र एक एक थान पंखा हस्तान्तरण गरे । झुप्रोमा वस्दै आएका उनीहरुले पक्की घर पाएपछि खुस लागेको प्रतिक्रिया दिए । ८३ वर्षिय विश्राम चेपाङले पक्की घर पाउँदा खुसी लागेको भन्दै वडा र नगरपालिकालाई धन्यवाद दिए । नगरको अवको ध्यान अव लालपूर्जा दिने तर्फ हुनु पर्ने उनको भनाई छ । आवास हस्तान्तरण गर्दै मेयर वनले नगर भित्रका सुकुम्वासीहरुलाई व्यवस्थित गर्दै गईरहेको भन्दै अहिले सम्म विपन्न तथा सुकुम्वासी परिवारलाई ९० वटा घर निर्माण गरिसकेको वताए ।