कोरोना सन्त्रास : संसद बैठक स्थगित गरौं

कोरोना सन्त्रास : संसद बैठक स्थगित गरौं

काठमाडौं,२३ फागुन ।

कोरोना भाइरसको संक्रमणबारे संसदले आवश्यक सजगता नअपनाएको भन्दै एक सांसदले संसद बैठक नचलाउन माग गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसदले सावधानी नअपनाएको भन्दै संसदको बैठक बन्द गर्न माग गरेका हुन्।

‘कोरोना भाइरसले विश्वभरी त्रास फैलाएको छ, डाक्टरहरु यसको उपाय सचेतना नै हो भनिरहेका छन्,’ उनले भने, ‘भीडभाडमा नजानू, भोजभतेर नगर्नू त भनियो, तर हामी सांसदले कति सावधानी अपनाएका छौं।’ सांसद पनि भीडभाडमा जाने, मन्त्रीले सयौं सेवाग्राहीलाई भेट्ने भएकाले संसद रोक्न उनले माग गरे।

‘संसदमा हेल्थ डेक्स छैन, संसदभित्र प्रवेश गर्दा टेस्ट नगरी प्रवेश गर्छौं,’ उनले भने, ‘मानौं कुनै मन्त्रीजी या सांसदलाई संक्रमण भएको रहेछ भने हाम्रो संसदको हालत के होला ? कि पूर्ण तयारी गरेर संसद चलाऔं या बन्द गरौं।’

बैठकमा अन्य सांसदहरूले पनि कोरोनाको संक्रमणबाट बच्ने तयारीका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।