कोराना भाइरसबारे सांसद थापाले गरे यस्तो प्रस्ताव

कोराना भाइरसबारे सांसद थापाले गरे यस्तो प्रस्ताव

काठमाडौं,२३ फागुन ।

कोरोना भाइरस (कोभिड १९)का विषयमा संसदमा जरुरी सार्वजनक महत्वको प्रस्ताव पेश भएको छ। पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका सांसद गगन थापाले उक्त प्रस्ताव पेश गरेका हुन्। चीनबाट फैलिएको यस भाइरसले विश्वमा सन्त्रास फैलाइरहेको अवस्थामा नेपाल सचेत रहनुका साथै प्रतिकारको तयारीमा समेत जुट्नुपर्ने भन्दै उनले प्रस्ताव राखेका हुन्।

उक्त प्रस्तावमा सांसदहरु दिव्यमणि राजभण्डारी र नारायण खड्काले समर्थन जनाएका छन्। प्रस्ताव राख्दै थापाले संसदमा प्रश्न गरे, ‘विश्वको अवस्था हेर्दा नेपाल अहिलेसम्म सुखद अवस्थामा छ। के सधैं रहिरहन्छरु’ इरान अघिल्लो दिनसम्म ढुक्क रहेको तर भोलिपल्ट बिहान एकाएक दुईको मृत्युको खबर आएको प्रसंग उल्लेख गर्दै उनले तयारीमा रहन सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘नेपाललाई जोखिमको सूचीमा राखिएको छ। भोगौलिक संरचना र खुला सिमानको कारण त हो। तर, हाम्रो सीमाको चेकजाँचमा रहेका कमजोरी र स्वास्थ्य क्षेत्रमा रहेको कमजोर अवस्थाले पनि जोखिममा छौं।’ अलिकति ध्यान दिएर तयारी गर्न सकेमा हामीले यसको प्रतिकार गर्न सक्ने उनले बताए। त्यो रोक्नका लागि केही काम तुरुन्तै गरिहाल्नुपर्ने उनले बताए। उनले भने, ‘अहिले गरिहाल्नुपर्ने, तयारीमा रहनुपर्ने केही काम छन्। त्यो काम सरकारको मात्रै होइन, संसदको मात्रै होइन, र समुदायको जिम्मेवारी छ।’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरल संयोजकत्वको समितिले एकीकृत काम गर्नुपर्ने उनले औंल्याए। संसदबाट समेत कोरोनाका विषयमा काम गर्ने समिति बनाउनुपर्ने उनको भनाइ छ। जसले सरकारलाई पर्दा सहयोग र सुझाव दिने काम गर्ने अवधारणा उनले अघि सारे। विभिन्न देशले कोरोना संक्रमित देशका नागरिक आउन र हवाई उडानमा समेत प्रतिबन्ध लगाएको बताउँदै उनले नेपाल पनि त्यसतर्फअघि बढ्न जरुरी रहेका बताए।

उनले भने, ‘युइएले इरानबाट आउन रोक लगाएको छ। भारतले जापान र इरानका भिसा पाइसकेका नागरिकलाई समेत रोक लगाएको छ। नेपालमा एक हप्ता मात्र हेरियो भने १३ सय ७८ जना नेपाल प्रवेश गरेका छन्। उनीहरु कहाँ छन् भन्ने बारे हामीसँग तथ्यांक छैन।’ उनले कुन देशबाट आउन रोक्ने, कुन देशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने र कुन देशबाट आउनेहरुलाई ट्र्याकिङ गर्ने भन्ने सम्बन्धमा समेत सरकार स्पष्ट हुनुपर्ने बताए। थापाले भने, ‘नागरिकलाई बाहिर जानु हुँदैन भनेको छ। वनमन्त्री घुम्न जानु भएको छ। एकजनाले एउटा भन्ने, अर्कोले अर्को गर्ने काम भइरहेको छ।’

सभा सम्मेलन नगर्ने भन्नुपछाडिको अर्थ सकेसम्म कम मान्छेको बीचमा रहने भन्ने भएको बताउँदै उनले नागरिकलाई पनि सचेत हुन आग्रह गरे। उनले आफ्नो यात्रा विवरण आफैंले राख्न आग्रह गरे। उनले सरकारले जानकारी दिन सीमित स्रोतको प्रयोग गर्नुपर्ने बताए। उनले भने, ‘नागरिकलाई सचेत गर्न एउटा प्लेटफर्म चाहियो। यसबारे त्यसले मात्रै बोल्नुपर्छ। बढी सूचनाले मान्छे त्रसित छ। गलत र बढी सूचनाले त्रसित हुन्छ। त्यसलाई सवै सञ्चार माध्यमले सहयोग गर्नुपर्छ।’

बजार अनुगमन गर्ने र सप्लाइ चेन तलमाथि हुन नदिने काममा सरकार सक्रिय हुनुपर्ने थापाले बताए। उनले स्वास्थ्य मन्त्रालयलयलाई औषधी र मास्कको अभाव हुन नदिन सचेत रहन आग्रह गरे। विदेशबाट नआउने अवस्थामा नेपालकै औषधी उद्योगलाई प्रोत्साहित गर्नुपर्ने उनले बताए। जसका लागि बनाइएका नीति नियम कार्यान्वयन गर्न उनले आग्रह गरे।

कालाबजारी गर्न दिनुहुन्न

सांसद थापाले राष्ट्रिय प्रयोगशालाले गरिरहेको कामको प्रशंसा गर्दै त्यसलाई २४ सै घन्टा चलाउने र अन्य निजी प्रयोगशालाई समेत समन्वय गर्नेतर्फ अघि बढ्न मन्त्रालयलाई सुझाए। यसैगरी स्वास्थ्यकर्मीलाई तालिम दिने, बिमा गराउने, र प्रोत्साहन भत्ता दिने विषयमा कन्जुस्याइँ नगर्न उनले आग्रह गरे।

आइसोलेसनको तयारी राम्रो गरेर अघि बढ्न उनको प्रस्ताव छ। अहिले कोठा मात्रै नभएर बेडलाई समेत आइसोलेसन गराउन सकिने प्रविधि भएकाले उनले त्यसतर्फ अघि बढ्न आग्रह गरे। अहिलेलाई उपप्रधानमन्त्री पोखरेल संयोजकत्वको समितिले कार्यायोजना सार्वजनिक गर्नुपर्ने र संसदले विशेष समिति बनाएर अनुगमन गर्ने काम हुनुपर्ने बताए।

उनले सचेत रहन, तर त्रसित नहुन आग्रह गर्दै भने, ‘हाम्रा लागि यो गोल्डेन पिरियड हो। समयको सुविधा पाएका छौं। इरानले पाएन, कोरियाले पाएन। हामी यसलाई सदुपयोग गरौं।’