मास्क लुकाउनेमा वीर अस्पतालकै फार्मेसी, तिराइयो ४ लाख ३० हजार जरिबाना

मास्क लुकाउनेमा वीर अस्पतालकै फार्मेसी, तिराइयो ४ लाख ३० हजार जरिबाना

काठमाण्डौ, २३ फागुन ।

कोरोना भाइरसको रोकथामको लागि नागरिक मास्कको प्रयोग बढेसँगै कृत्रिम अभाव सुरु भएको छ । यसरी कृत्रिम अभाव सिर्जना गर्ने वीर अस्पतालकै फार्मेसी पनि रहेको छ ।

मास्क लुकाउनेलाई कारबाही थालेको सरकारले वीर अस्पतालमा रहेको आयूष फार्मेसीले मास्क, सेनिटाइजर लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएपछि कारबाहीमा परेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा फार्मेसीले मास्क लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएपछि फार्मेसीलाई २ लाख रुपैयाँ जरिबाना गरेको हो ।

यस्तै विभागले क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्टलाई पनि २ लाख रुपैयाँ जरिबाना गरेको छ । यस्तै क्षेत्रपाटीमा रहेको एस जे मेडिको सर्जिकललाई २० हजार रुपैयाँ र आरएफ फार्मेसीलाई १० हजार रुपैयाँ जरिबाना गरेको छ ।

सामान किनबेच गरेबापतको बिल नभएकोले उनीहरुलाई कारबाही गरिएको विभागको महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनले मेडिकल पसलहरुमा शुक्रबारदेखि अनुगमनमा थप कडाइ गरिने पनि जानकारी दिए । विभागले पछिल्लो ४ दिनमा मेडिकल सप्लायर्समा अनुगमगन गरी ६ लाख ५० हजार जरिबाना तिराएको छ ।