आगलागीबाट झापाको एक झुपडी जल्यो, झुपडी भित्र भेटियो लाखौं रकम

आगलागीबाट झापाको एक झुपडी जल्यो,   झुपडी भित्र भेटियो लाखौं रकम

काठमाडौं,२४ चैत्र ।

सामुदायिक वनको छेउमा बासको टाटीले बेरेको फुसको घर । वरिपरि मदिराका खाली बोतल । फलाम र अन्य कवाडी सामग्री पनि असरल्ल छरिएका छन् । बाहिरबाट हेर्दै अभावले घेरिएको मानिस बस्ने घर जस्तो देखिन्थ्यो ।

झापाको कनकाई नगरपालिका-३, सुरुङ्गामा रहेको यही घरमा शनिबार दिउँसो एक्कासी आगो लाग्यो । घरमा आगो दन्किरहँदा घरधनी अन्दाजी ५० वर्षीय ठाकुरसिंह राई भने कनकाई नगरपालिकाको कार्यालयमा थिए ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना ९कोभिड(१९० नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि उनलाई हातमुख जोड्न समस्या हुनसक्ने स्थानीयले कल्पना गरेका थिए । कनकाईकी उपमेयर मञ्जु प्रसाईंका अनुसार त्यही सोचेर उनलाई राहत लिन बोलाइएको थियो ।

तर, राहत स्वरुप पाँच किलो चामल, एक किलो दाल र तेल लिएर फर्किन नपाउँदै उनको झुपडीमा मानिसहरुको भिड जम्मा भइसकेको थियो । दमकल र प्रहरी प्रशासन आगो नियन्त्रणमा जुटेको थियो ।

दैनिक मजदुरी गरेर छाक टार्ने उनलाई देखेका स्थानीय प्रहरीले कुनै सामान जोगाउन सकिन्छ कि भनेर बाहिर पनि निकाल्दै थिए । तर, जब घरभित्र रहेको टिनको बाकस सार्दा प्रहरी अधिकारीले हजार रुपैयाँको नोट देखेर उठाउने प्रयास गरे, त्यतिबेला एउटा नोट मात्र होइन, बण्डलैबण्डल फेला परे ।