राप्ती ४ को अर्को प्रसंसनिय काम – सुत्केरी महिलालाई पोषण भत्ता

राप्ती ४ को अर्को प्रसंसनिय काम  – सुत्केरी महिलालाई पोषण भत्ता

पुष २२ गते । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्वर ४ ले सुत्केरी महिलाहरुलाई पोषण भत्ता वितरण गरेको छ । चालु आर्थिक वर्षमा विनियोजन गरिएको गर्भवती तथा सुत्केरी आमा पोषण कार्यक्रम अन्र्तगत वडा भित्रका सुत्केरी महिलाहरुलाई पोषण खर्चका लागि २ हजार ५ सयका दरले नगद वितरण गरिएको वडा अध्यक्ष शमशेर लामाले वताए । पहिलो दिन मंगलवार ९ जना सुत्केरी महिलाहरुलाई भत्ता वितरण गरिएको छ । दुई चरणमा वितरण गरिने कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षमा गर्भवती र सुत्केरी भएका महिलालाई आउँदो जेठमा वितरण गरिने वडा अध्यक्ष लामाले जानकारी दिए । निर्वाचित भएदेखी यो कार्यक्रम लागू गरिएको भन्दै वडाध्यक्ष लामाले स्थानीय सरकारको अनुभूती दिलाउन सुत्केरी पोषण कार्यक्रम समावेश गरिएको वताए । राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको उपस्थितीमा उनीहरुलाई पोषण भत्ता वितरण गरिएको थियो । उपमेयर लामाले वडा कार्यालयले सृजनात्मक काम गरेको उल्लेख गर्दै सानो रकम भएपनि सम्मानको रुपमा लिनु पर्ने वताए । उपस्थित सुत्केरी महिलाहरु पोषण खर्च पाउँदा खुसी देखिन्थे । यो वर्ष वडा कार्यालयले गर्भवती तथा सुत्केरी महिला पोषण खर्च कार्यक्रमका लागि ३ लाख रुपैया विनियोजन गरेको छ । पोषण भत्ता वितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक सुशिल कुमार पाण्डे,वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । राप्ती ४ को वडा कार्यालयले चालु आर्थिक वर्षमै वडा भित्रका गरिव तथा विपन्न १ सय घरपरिवारको निशुल्क स्वास्थ्य बीमा गर्नुका साथै विपन्न १० परिवारलाई जाडोबाट वच्न सिरक डसना समेत वितरण गरिसकेको छ ।