४२ लाख घुस लिने वकिल पक्राउ

४२ लाख घुस लिने वकिल पक्राउ

काठमाडौं,२४ माघ।

राजस्व चुहावट मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४२ लाख घुस लिएको आरोपमा प्रहरीले एक वकिललाई पक्राउ गरेको छ।

राजस्व चुहावट मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका रमेश दाहालको परिवारसँग घुस लिने अधिवक्ता टंक रानामगरलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले माइतीघरमा रहेको जनन्यायिक कानुनी सेवा केन्द्रबाट रानामगरलाई शुक्रबार अपराह्न पक्राउ गरेको जानकारी दिए।

प्रहरीका अनुसार रानामगरले कारागारबाट छुटाइदिन्छु भनेर दाहाल परिवारबाट ४२ लाख घुस लगेका थिए । तर उनले छुटाउन नसकेपछि दाहाल परिवारले उजुरी दिएका थिए ।

दाहालविरुद्ध राजस्व बिभागले २ करोड २५ लाख रुपैयाँ बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि अदालतले कारागार चलान गरेको थियो। दाहाल व्यापारी हुन्।

घुस लिने वकिलमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।