ट्रम्पको आग्रहपछि भारतले फुकुवा गर्‍यो २४ थरि औषधिको निर्यातमा लगाएको प्रतिबन्ध

ट्रम्पको आग्रहपछि भारतले फुकुवा गर्‍यो २४ थरि औषधिको निर्यातमा लगाएको प्रतिबन्ध

काठमाडौं,२५ चैत्र

भारतले औषधि निर्माणका आवश्यक पर्ने विभिन्न २४ प्रकारका औषधिजन्य कच्चापदार्थ तथा औषधिको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको छ।

भारत सरकारले वक्तव्य जारी गरेर गएको महिना ९मार्च० मा लगाएको प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको अमेरिकी पत्रिकार द न्यूयोर्क टाइम्सले जनाएको छ।

नोवेल कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिएपछि भारतले गएको महिना औषधि निर्यातमा प्रतबिन्ध लगाउँदा विश्वभर नै औषधिको आपूर्ति व्यवस्थामा असर परेको थियो।

एक महिना भित्रै भारतले प्रतिबन्ध फुकुवा गर्नुको कारण भने स्पष्ट पारिएको छैन। तर अमेरिकाले दिएको दबाब थेग्न नसकेपछि प्रतिबन्ध फुकुवा गर्न भारत बाध्य भएको सरकारी स्रोतलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

निर्यात फुकुवा गरिएका औषधिको सूचीमा दुखाई कम गर्ने औषधि पारासिटामोल र त्यसका कच्चा पदार्थ भने समावेश गरिएको छैन।

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको थियो। सो वार्ताको क्रममा पनि ट्रम्पले निर्यात फुकुवा गर्न दबाब दिएको बुझिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सको सोमबारको ब्रिफिङ्गको क्रममा भारतले औषधि निर्यात गर्न नदिएमा कडा प्रतिक्रियको सामना गर्नु पर्ने चेतावनी दिएका थिए।

कोरोना भाइरसको संक्रमण भएका वा हुने जोखिममा रहेका व्यक्तिमा मलेरिया विरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी हुने विश्वास गरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले लगातार सो औषधिको प्रयोग गर्नु पर्ने बताउँदै आएका छन्।

अमेरिका सरकारले २९ मिलियन भन्दा बढी डोजको हाइड्रोक्सिक्लोरोक्वीन औषधि जम्मा गर्ने बताएको छ। यस्तै यसको औपचारिक परीक्षण पनि सुरु गर्ने घोषणा गरेको गरिसकेको छ।

भारतले गएको महिना प्रतिबन्ध लगाएको औषधिको सूचिमा हाइड्रोक्सिक्लोक्वीन पनि छ। त्यसपछि ट्रम्प रुष्ट भएका हुन्।

ट्रम्पले सोमबारको ब्रिफिङ्गमा भनेका थिए, ‘भारतका प्रधानमन्त्रीसँग मैले कुरा गरेको छु। राम्रो कुराकानी भयो । उहाँहरुले हामीलाई मलेरियाविरुद्धको औषधि पठाउनु भयो भने राम्रो हुन्छ। यदी त्यस्तो भएन भने अमेरिकाका तर्फबाट निश्चित रुपमा जवाफी कारवाही हुन सक्छ।’

भारतमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोक्वीनको उत्पादन ठूलो मात्रामा हुने गरेको छ र त्यसको खपत पनि सोही अनुपातमा छ ।

कोरोना भाइरसको उपाचारमा यसको प्रभावकारिताको कुरा आउन थालेपछि भारतले गएको महिना यसको निर्यातमा प्रतिबन्ध लगाएको हो।

मंगलबार भारतको विदेश मन्त्रालयले त्यसको जवाफ दिँदै सञ्चार माध्यमहरुले औषधिलाई लिएर विवाद सिर्जना गरेको बताएको छ। भारतसँग आफ्ना नागरिकलाई पुग्ने औषधि पर्याप्त रहेका मन्त्रालयले दाबी गरेको छ।

आफ्ना नागरिकलाई औषधि पुग्छ या पुग्दै भन्ने बुझ्ने क्रममा केही समयका लागि केही औषधिको निर्यातमा प्रतिबन्ध लगाएको भए पनि औषधिको मात्रा पर्याप्त रहेकाले त्यसलाई फुकुवा गरिएको भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको बयानमा उल्लेख छ।

ट्रम्पले जवाफी कारवाही गर्न सक्ने चेतानवी दिए लगत्तै भारतले औषधि निर्यात लगाएको प्रतिबन्ध फुकवा गरेको हो।