तेलुगु कलाकार जयप्रकाश रेड्डीको निधन

तेलुगु कलाकार  जयप्रकाश रेड्डीको निधन

नयाँदिल्ली, २३ भदाै ।

तेलुगु चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्‍चारमाध्यमका अनुसार मंगलबार आफ्नै निवास गुन्टुरमा हृदयघातका कारण कलाकार रेड्डीको निधन भएको हो ।

मंगलबार बिहान उनी बाथरुममा लडेको र त्यसपछि हृदयघात भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । उनले अधिकांश चलचित्रमा खलपात्रको भूमिका निर्वाह गरेका थिए । त्यस्तै कमिक पात्र पनि उनले फिल्ममा निभाएका छन् ।

आन्ध्र प्रदेशको गुन्टरमा बस्दै आएका उनी कमेडी रोलबाट चर्चामा आएका थिए । उनले ‘ब्रह्मापुत्रूदू’ बाट आफ्नो करिअरको शुरूआत गरेका थिए।

उनले प्रेमिचुकुन्दाम रा, जयम मनदेरा, समरसिंह रेड्डी, चेन्नकेशवरेड्डी, छत्रपति, गब्बरसिंह, सीतय्या, नायक, रेसुगुर्रम, मनम, टेप्रलगायतका थुप्रै चलचित्रमा अभिनय गरेका थिए।

उनको निधनप्रति बलिउडकर्मीहरूले समवेदना प्रकट गरेका छन्।