थारु समुदायको नयाँ वर्षमा खैरहनीमा खिचरा महोत्सव

थारु समुदायको नयाँ वर्षमा खैरहनीमा खिचरा महोत्सव

चितवन , २३ पुष ।
चितवनको खैरहनीमा पुष अन्तिमसाता खिचरा महोत्सव हुने भएको छ । थारु समुदायले नयाँ बर्षको रुपमा मनाउने गरेको माघ १ को अवसरमा थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ ले खैरहनीको वडा नम्बर ५ स्थित गौचरणमा खिचरा महोत्सव गर्न लागेको हो ।

पुष २७ गतेदेखी माघ ८ गतेसम्म महोत्सव गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । थारु समुदायको सास्कृतिक वर्ष,भेषभुषा,भाषाको संरक्षण गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ का सभापति एवंम् महोत्सवका संयोजक चुडामणी चौधरीले वताए । संयोजक चौधरीका अनुसार महोत्सवमा उद्योग,व्यापार,कृषि,पर्यटन,स्थानीय कला संस्कृतिको प्रवद्र्धन,स्थानीय स्तरमा उत्पादित वस्तुको प्रर्वद्धन गराउन करिव १ सय ५० वटा स्टल रहनेछन् । साथै थारु जातिका साथै विभिन्न जातिका खानाका परिकारको स्टल समेत रहने छ ।

महोत्सव परिसरमै थारु मिनि गाउँ परिसर,घोङी र पोकाको मूर्ती प्रर्दशनीका लागि राखिने तयारी छ । कृषि उपज प्रर्दशनी,अन्तर विद्यालय स्तरीय चित्रकला र हाजिरीजवाफ प्रतियोगिता,४० वर्ष माथिका पुरुषको दौड,स्लो साईकल रेस,खिचरा फोटो सेल्फी कन्टेस्ट,फेस पेन्ट जस्ता गतिविधी समेत समावेश गरिएको संयोजक चौधरीले वताए । महोत्सव प्रवेशका लागि ५० रुपैयाको व्यवस्था गरिएको छ भने विद्यार्थीलाई परिचय पत्रको आधारमा ३० रुपैया कायम गरिएको आयोजकले जनाएको छ ।