रत्ननगर महोत्सवको तयारी पुरा, जिपलाइन मुख्य आकर्षण

रत्ननगर महोत्सवको तयारी पुरा, जिपलाइन मुख्य आकर्षण

चितवन , २३ पुष ।
शुक्रबारदेखी सुरु हुने १० औं रत्ननगर महोत्सवको तयारी पुरा भएको छ ।  महोत्सवस्थल टिकौली चौरमा बुधवार पत्रकार सम्मेलन गरि महोत्सवको तयारी पुरा भएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवंम् महोत्सवका संयोजक राजाराम रेग्मीले वताए ।

माघ ७ गते सम्म चल्ने महोत्सवमा नयाँपन दिनका लागि आयोजकले महोत्सवस्थल नजिकै जीप लाईनको व्यवस्था गरेको छ । जीप लाईन करिव २ सय मिटरको छ । ९ औं संस्करणमा धरहरा निर्माण गरेर अवलोकनकर्ताहरुलाई आकर्षण गराएको र यसपटक जीप लाईनको मज्जा लिने बातावरण तयार गरेको अध्यक्ष रेग्मीले बताए । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला, सँस्कृति, वस्तु एवं सेवाका पाँच सय वटा स्टल रहने छन् । पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान आयोजकको छ ।

रत्ननगर महोत्सव अन्तर्गत पुस २९ देखि माघ ४ गतेसम्म रत्ननगरको टाँडी बजारमा चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना हुने फेस्टिवलका संयोजक एवंम् आर्थिक समिति संयोजक ज्ञान वहादुर विसुरालले वताए । मासु र अण्डा खपत बढाउन विशेष परिकारसहित फुड फेस्टिबल आयोजना गर्न लागिएको विसुरालले जानकारी दिए । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा प्रत्येक दुई वर्षमा रत्ननगर महोत्सव गरिदै आएको छ ।