चलचित्रमा सलमान र शाहरुख पुन: एकसाथ देखिँदै
मुम्बई,२३ कार्तिक ।
बलिउडका दुई खान सलमान र शाहरुख बीचको सम्बन्धमा केही समय चिसोपना आए पनि अहिले उनीहरुको पुनर्मिलन भइसकेको छ । सार्वजनिक समारोहरुमा पनि सँगै देखिन पनि छोडिसकेका उनीहरु ‘आप की अदालत’ कार्यक्रममा सँगै देखिएपछि पुनर्मिलन भएको खबर बलिउड हंगामाले छापेको छ । त्यसपछि सलमानले सञ्चालन गर्दै आइरहेको रियालिटी शो ‘बिग बोस ९’ को एउटा एपिसोडमा शाहरुख विशेष अतिथि बनेर गए । त्यस्तै सलमानको मुख्य भूमिका रहेको चलचित्र ‘ट्युब लाइट’ मा विशेष उपस्थितिमा देखिए । सलमान पनि शाहरुखको महत्त्वकांक्षी चलचित्र ‘जिरो’ मा एउटा गीतमा देखिए ।
अन्तत: अब यी दुई खान लामो समयपछि पुनः ठूलो पर्दामा देखिन लागेका हुन् । एक स्रोतलाई उद्धत गर्दै बलिउड हंगामाले लेखेको छ, “सलमान खानले चलचित्र पठानमा एउटा मुख्य भूमिका निभाउन साइन गरिसकेका छन् । शाहरुख लिड रोलमा रहने यस भव्य एक्सन चलचित्रमा सलमानको विशेष उपस्थिति रहनेछ । यस चलचित्रका लागि सुपरस्टार (सलमान) १२ दिनको छायांकनमा बस्ने बताइएको छ । पठानका लागि छायांकन सक्नेबित्तिकै उनी ‘टाइगर ३’ को छायांकनका लागि जानेछन् ।”
स्रोतका अनुसार सलमान चलचित्रमा शाहरुखसँगै देखिँदै छन् । तर उनी चलचित्रका अरु कलाकार जोन अब्रहाम र दीपिका पादुकोणसँग देखिँदै छन् या छैनन् त्यो भने भनिएको छैन । ट्रेड विज्ञहरुका अनुसार, यदि यो खबर सत्य हो भने, महामारीले सुस्ताएको बलिउड बक्स अफिस फस्टाउने पक्का हो । किनभने दर्शकहरु दुई खानलाई सँगै पर्दामा हेर्न हल अवश्य जानेछन् ।
रिपोर्टका अनुसार ‘पठान’ यहि महिनाको अन्त्यतिर छायांकनमा जानेछ । यो चलचित्र शाहरुखको लगभग दुई वर्षपछि लिडमा देखिने चलचित्र हो । सन् २०१९ को ठूलो ग्रस कलेक्सन गर्न सफल ‘वार’ चलचित्र निर्देशन गरेका सिद्धार्थ आनन्दले गर्दै छन् ।