काँग्रेसले मंसिर २९ गते सरकार विरुद्ध प्रदर्शन गर्ने

चितवन, २३ मंसिर ।
नेपाली काँग्रेस, चितवनले मंसिर २९ गते सरकार विरुद्ध प्रदर्शन गर्ने भएको छ । सरकार विरुद्ध देशभर प्रदर्शन गर्ने काँग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार चितवन काँग्रेसले प्रदर्शन गर्ने तयारी गरेको हो ।

तनहुँको एउटा पुल उद्घाटन गर्न जाने क्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेस आक्रोशित बनेको हो । ‘सरकारको अधिनायकवादी चिन्तन र व्यवहारका कारण लामो संघर्ष पछि प्राप्त उपलब्धि नै गुम्ने खतरा बढ्दै गएको छ’, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले मंगलबार प्रदर्शनबारे एक सूचना जारी गरी भने, ‘सरकारको क्रियाकलाप नै प्रतिगमनको मतियार बनेको छ । स्थिर सरकारको प्रत्याभुति दिँदै समृद्धितर्फको यात्रामा अगाडि बढ्नुपर्नेमा नेकपा र नेकपाको सरकार आन्तरिक समस्याको दलदलबाट बाहिर निस्कन सकेको छैन ।’

 

प्रधानमन्त्री केपी ओली भ्रष्टहरुको कबच बनेको, विकास निर्माणका काममा सरकार अनुत्तरदायि देखिएको र आफ्ना नेताहरुलाई गिरफ्तार गरी अपमान गर्ने गरेकोले सरकारको विरोध गर्नुपरेको उनले बताए । मंसिर २९ गते साढे १२ बजेदेखि विरोध प्रदर्शनका कार्यक्रम हुने उनले बताए ।