उद्योग बाणिज्य संघ चितवनको आसन्न अधिवेशनमा अध्यक्षका लागि शाक्यको उम्मेदवारी घोषणा
उद्योग बाणिज्य संघ चितवनको आसन्न अधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्रमान शाक्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । व्यवसायीको मतलाई बन्धक बनाउने गरी गरिएको गोला प्रथाको विरुद्धमा उम्मेदवारी दिन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए । लोकतान्त्रिक पद्धती भन्दा बाहिर गएर गोला तानेर अध्यक्ष चयन गरेको भन्दै त्यसको विरुद्धमा उत्रिएको उनले बताए । संघलाई सबल र सक्षम बनाउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।
शाक्यको प्यानलबाट बरिष्ठ उपाध्यक्ष पदमा विष्णुप्रसाद कंडेलले उम्मेदवारी दिएका छन् । नेतृत्व कँडेल संघको उपाध्यक्ष समेत भईसकेका छन् ।
उद्योग बाणिज्य संघ चितवनको ५३ औं वार्षिक साधारण सभा तथा अधिवेशन यही पुष २८ र २९ गते हुँदैछ । अधिवेशनका लागी अध्यक्षका प्रत्यासी राजु श्रेष्ठ र चुननारायण श्रेष्ठलाई आलोपालो अध्यक्ष हुने गरी गोला तानिएको थियो ।
यता गोला प्रथाबाट अध्यक्ष र वरिष्ठ उपाध्यक्ष छानेकाहरु मत माग्न व्यस्त छन् । अध्यक्षका प्रत्यासी राजु श्रेष्ठ र चुननारायण श्रेष्ठले व्यवसायीसँग भेट गर्दै मत मागिरहेका छन् ।
गोलाप्रथाबाट अध्यक्षको उम्मेदवार चयन भएको र त्यसको विरुद्धमा अध्यक्षमै उम्मेदवारी परेपछि आसन्न चुनाव रोचक मोडमा पुगेको छ । अध्यक्षका प्रत्यासी शाक्य पनि पुराना व्यवसायी भएकाले यस पटकको चुनाव कसको पक्षमा जान्छ भन्ने धेरैको खुलदुलीको विषय बनेको छ ।
गोलाप्रथाको नेपाली कांग्रेस चितवनले समेत विज्ञप्ती जारी गरेर विरोध जनाइसकेको छ ।