ढुङ्गाखानीबाट गाउँमै रोजगार

ढुङ्गाखानीबाट गाउँमै रोजगार

बागलुङ, २४ मङ्सिर। 
अरबको खाडीमा सात वर्ष बिताएर स्वदेश फर्कनुभएका खगेन्द्र श्रीसमा फेरि कमाउन विदेशै जाने मोह पलायो । दुई वर्षअघि जापान जाने प्रक्रिया थाल्नुभयो । अफसोच काम सफल भएन । उहाँको जापान जाने सपनाले नयाँ मोड लियो । चालिस वर्षीय श्रीसले गाउँमै उद्यम गर्ने अठोट लिनुभयो ।

गलकोट नगरपालिका–६ भुजुङ्गेका श्रीसले परम्परागत ढुङ्गाखानीलाई आधुनिक र व्यावसायिक बनाउनुभयो । रु तीन लाखको लगानीमा गत वर्षदेखि ढुङ्गाखानी सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । ढुङ्गाखानीमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । “मासिक रु ५० हजारदेखि एक लाखसम्म कमाई हुन्छ”, श्रीसले भन्नुभयो ।

उहाँका अनुसार कुनै बेला ढुङ्गा राम्रो निस्कन्छ, कहिले कम । ठूलो आम्दानी मजदूरको ज्यालामा जाने गरेको श्रीसको भनाइ छ । उहाँ आफँै पनि ढुङ्गाखानीमा काम गर्नुहुन्छ । “मसहित १० जनालाई खानीले रोजगार दिएको छ, गाउँका युवाको चित्त बुझाएर काममा लगाएको छु”, उहाँले भन्नुभयो ।

मजदूरले एउटा स्लेट ढुङ्गा (कटपिस टायल) काटेको तीन रुपैयाँ पाउँछन् । एकजनाले दिनमा चार÷पाँच सयसम्म स्लेट ढुङ्गा तयार पार्छन् । धेरै ढुङ्गा निस्केका बेला महिनाकै ३५÷४० हजारसम्म कमाउँछन् । खानीमा उत्पादित स्लेट ढुङ्गालाई गाउँसम्म बोकेर ल्याउने काम भने महिलाले गर्छन् ।

एउटा स्लेट ढुङ्गा बोकेको रु दुई पाउँछन् । एक खेपमा १०० वटासम्म बोक्ने गरेको स्थानीयवासी कुमारी श्रीसले बताउनुभयो । उहाँका अनुसार महिनामा चार÷पाँचपटकसम्म डोकोमा स्लेट बोक्ने काम मिल्छ । भारी बोकेर पाउने ज्यालाले महिलालाई घरखर्च चलाउन सजिलो भएको छ । कतिले छोराछोरीको पढाइ खर्चसमेत त्यसैबाट धान्छन् ।

ढुङ्गाखानीसम्म सडक नपुगेकाले मोटर आउने ठाउँसम्म बोकाएर ल्याउनु परेको ढुङ्गाखानी सञ्चालक खगेन्द्रले बताउनुभयो । “ढुङ्गा काट्ने काम हाम्रो पुख्र्यौली पेशा हो, आम्दानीको मुख्य स्रोत पनि यही हो”, स्थानीयवासी बेग श्रीसले भन्नुभयो । उहाँले नै पहिलोपटक विसं २०५७ मा भुजुङ्गेमा स्लेट ढुङ्गा काट्ने उपकरण र सीप भित्र्याउनुभएको थियो ।

स्लेट ढुङ्गाको व्यावसायिक उत्पादन हुन थालेको भने सात÷आठ मात्र पुगेको छ । “ढुङ्गेनी गाउँले समेत चिनिने भुजुङ्गेको परम्परागत पेशा र आम्दानी नै ढुङ्गाखानीमा जोडिएको थियो । ढुङ्गा बचेरै गाउँलेले जीविका चलाउँथे । पहिले छाना छाउने ढुङ्गा मात्रै निकाल्ने गरिए पनि प्रविधिको विकाससँगै पछिल्लो समय टायलको विकल्पका रुपमा स्लेट ढुङ्गा प्रयोग हुन थालेको हो ।

खानीमा छाउने ढुङ्गासँगै भित्तामा लगाइने स्लेट ढुङ्गा (कटपिस टायल), १२÷१२, ६÷१२ र १२÷१८ को भुइँमा बिछ्याउने स्क्वायर टायल उत्पादन हुन्छ । कटपिस टायल प्रतिगोटाको रु १२ र स्क्वायर टायलको मूल्य क्रमशः रु ८०, ४० र १७० तोकिएको छ । एक हातको छाउने ढुङ्गालाई पनि रु १७० पर्छ ।

ढुङ्गाखानीको उत्पादन गलकोटमै रहेको डिपोमार्फत देशका विभिन्न ठाउँमा बिक्रीका लागि पुग्ने गरेको छ । भुजुङ्गेमा खेगन्द्रसहित सुकमन र निर्मल श्रीसले पनि ढुङ्गाखानी सञ्चालन गरिरहनुभएको छ । सुकमनको खानीमा तीन र निर्मलको खानीमा चारजनाले रोजगारी पाएका छन् । सबैले आफ्नै निजी जग्गामा खानी खोलेका हुन् ।

ढुङ्गाखानीलाई राज्यले व्यवस्थित गर्नुपर्ने माग स्थानीयवासीको छ । कानून अभावमा अहिलेसम्म ढुङ्गाखानी करको दायरामा आउन सकेका छैनन् । ढुङ्गाखानीलाई दर्ता गरी नियमानुसार चलाउन सञ्चालक राजी छन् । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीले ढुङ्गाखानीसहित प्राकृतिक स्रोतसाधनको उपयोगबारे छिट्टै कानूनी प्रबन्ध गरिने बताउनुभयो । “अहिले पनि ढुङ्गाको अवैध कारोबार भइरहेको छ, नगरपालिकाले कर गुमाइरहेको छ, त्यसलाई व्यवस्थित गर्नैपर्छ”, उहाँले भन्नुभयो, “नियम र मापदण्डभित्र रहेर ढुङ्गाखानी सञ्चालन गर्ने वातावरण बनाउँछौँ ।”रासस