चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावकले गुहारे मानव अधिकार आयोगलाई

चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावकले गुहारे मानव अधिकार आयोगलाई

काठमान्डौ,२६ माघ

चीनको वहानमा रहेका नेपाली विद्यार्थीका अभिभावकहरूले उद्धार कार्यका लागि सरकारलाई दबाब दिन राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारेका छन्।

कोरोना भाइरसका कारण अति प्रभावित चीनको वहान प्रान्तमा अध्ययन गरिरहेको विद्यार्थीका अभिभावकहरूले सरकारले उद्धारका लागि पहल नगरेमा आक्रोश व्यक्त गर्दै आइतबार मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझाए। ज्ञापन पत्र बुझाउँदै उनीहरूले सरकारलाई उद्धार कार्यमा जुट्नका लागि निर्देशन दिन आग्रह गरे।

आयोगका अध्यक्ष अनुपराज शर्मालाई बुझाइएको ज्ञापनपत्रमा कोराना भाइरसको संक्रमणबाट बच्न सफल नेपाली विद्यार्थीहरूले नेपाल फर्कन चाहेपनि सरकारले त्यसका लागि पहल नगरेको उल्लेख गरिएको छ। दुईहप्ता अघिदेखि कोराना भाइरसका कारण आआफ्ना कलेजका होस्टलमाहरूमा ‘लकअप’मा दयनीय अवस्थामा दिन गुजारिरहेको उल्लेख गरिएको छ। त्यस्तै उनीहरूले सरकारले नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने उद्घोष गरेपछि आफूहरू आशावादी भएपनि उद्धार कार्य नगरिएको बताए।

ज्ञापनपत्रमा छिटो आफ्ना नानीहरूलाई उद्धार गर्न स्वास्थ्य, गृह, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई भनेपनि आश्वासन मात्र प्राप्त भएको र सो अनुसारका काम नभएको भन्दै त्यसका लागि आवश्यक पहल गरिदिन आयोगलाई आग्रह गरिएको छ।

पछिल्लो दुईसातादेखि चीनबाट फैलिएको कोराना भाइरसको संक्रमणका कारण विभिन्न मुलुकमा हालसम्म ८ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ। संक्रमण दर अझैं बढेपछि चीनमा अध्ययनका लागि पुगेको नेपाली विद्यार्थीका अभिभावकहरू चिन्तामा परेका छन्। चीनबाट नेपाल फर्कनका लागि १ हजार ८ सय भन्दा बढीले फाराम भरेपनि सरकारले उनीहरूलाई नेपाल ल्याउने कार्य सुरु गरेको छैन।