कोरोनाका कारण मृत्यु भएमा आफन्तले सदगत गर्न पाउने

कोरोनाका कारण मृत्यु भएमा आफन्तले सदगत गर्न पाउने

काठमाडौं,२७ चैत्र

कोरोना भाइरस (कोभिड-१९) संक्रमित कोही पनि व्यक्तिको मृत्यु भएमा नेपालमा आफन्तहरु उपस्थित हुन पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको ‘कोभिड(१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि -२०७६’ अनुसार कुनै पनि व्यक्तिको कोभिड(१९ कारण मृत्यु भएमा निजका उपस्थित आफन्तलाई सुरक्षित राखेर शवको सद्गत गर्न सकिने व्यवस्था गरिएको छ। मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्क सहितको पिपिईको प्रयोग गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।

अन्तिम संस्कारमा उपस्थित हुने आफन्तले आफ्नो परम्पराअनुसार शवलाई नछोई पानी जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता कार्य गर्न पाउने व्यवस्था कार्यविधिमा गरिएको छ। मृतकका आफन्तले शवलाई हेर्ने इच्छा व्यक्त गरेमा कम्तीमा एक मिटरको दूरी राखेर नछोई हेर्न पाउने छन्।

कार्यविधि अनुसार शव लिन जानुपूर्व नै शवबाहन चालक तथा अन्य कर्मचारीले राम्रोसँग पिपिईको प्रयोग गरेको हुनुपर्नेछ। त्यस्तै, शवलाई जथाभावी सद्गत गर्न नहुने, सकेसम्म कमभन्दा कम चलाउनुपर्ने, मृतकको शवलाई डिसइन्फेक्सन गर्न आवश्यक नरहेको लगायतका व्यवस्था गरिएका छन्। शवलाई सद्गत गरिने ठाउँसम्म पु¥याउँदा साधारण शवबाहनको प्रयोग गर्दा हुने कार्यविधिमा उल्लेख गरिएको छ।