इरानमा कोरोनाको औषधी भन्दै विषालु अल्कोहल पिउदा ६ सय जनाको ज्यान गयो

इरानमा कोरोनाको औषधी भन्दै विषालु अल्कोहल पिउदा ६ सय जनाको ज्यान गयो

काठमाडौं,२७ चैत्र

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्वका २ सय बढी देश प्रभावित भएका छन् । इरानमा पनि कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार इरानमा मात्र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ९ सय बढी रहेको छ भने संक्रमितको संख्या साढे ६४ हजार बढी रहेको छ ।

यसैक्रममा इरानमा कोरोनाभाइरसको औषधी भन्दै विषालु अल्कोहल पिउदा ६ सय जना भन्दा बढीको ज्यान गएको छ । कोरोनाभाइरसको औषधी भन्दै प्रचार गरिएको रासायनका कारण धेरै मानिसको ज्यान गएको हो ।

विषालु अल्कोहलकै कारण ३ हजार भन्दा बढी मानिस बिरामी भएर अस्पतालमा भर्ना भएका छन् । डेलिमेलको रिपोर्टअनुसार इरान सरकारका एक प्रवक्ता घोलम हुसैनी इस्माइलीले ती नागरिकहरुले कोरोनाभाइरसको औषधी सम्झेर ‘नीट’ अल्कोहल पिएका कारण यस्तो भएका बताएका छन् । उनले विषालु अल्कोहलका कारण धेरै मानिसको मृत्यु भएको बताउदै भने अल्कोहल पिएर रोग ठिक हुँदैन बरु यो उल्टै प्राणघातक हुन सक्छ । उनका अनुसार यसमा संलग्न रहेकालाई पक्राउ गरिएको र उनीहरुविरुद्ध मुद्दा पनि चलाइने बताइको छ।