भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय रद्द

भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय रद्द

काठमाडौं ,२७ चैत

सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय रद्द गरेको छ । ।

कोरोना भाइरस (कोभिड- १९)को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ । लकडाउन वैशाख ३ सम्म लम्बिएपछि मानिसहरु हिँडेर समेत घर जान थालेका छन् । त्यसलाई हेरेर सरकारले उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने गृहकार्य गरेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरोकारबाला मन्त्रीहरुलाई बोलाएर उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिन निर्देशन दिए । कसरी जान दिने भन्ने गृहकार्य गर्न गृह सचिवलाई भनिएको थियो ।

तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए ।

यातायात व्यवसायीहरुले पनि भोलि र पर्सि पठाउन सम्भव नभएको बताएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भने, ‘अहिलेलाई यो सम्भव भएन भनेर बुझ्नुपर्‍यो ।’