निर्मला पन्त प्रकरणः एआइजीको प्रतिवेदन खारेज,‘दिलीप नै दोषी भएको ठहर’

निर्मला पन्त प्रकरणः  एआइजीको प्रतिवेदन खारेज,‘दिलीप नै दोषी भएको ठहर’

काठमाडौं,२७ माघ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ ।

प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेर बुझाइएको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गरेको हो । प्रहरी प्रधान कार्यालयले गठन गरेको अर्को छानबिन समितिले बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन त्रुटिपूर्ण ठहर गरेपछि बस्न्यात नेतृत्वको टोलीको प्रतिवेदन खारेज गरेको हो ।

प्रहरी प्रधान कार्यालयले एआइजी बस्न्यातको नेतृत्वमा समिति गठन गरी छानबिन गर्न निर्देशन दिएको थियो । एआइजी बस्न्यातको टोलीले प्रतिवेदन तयार पारी प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई बुझाएको थियो ।

यद्दपी सो प्रतिवेदनबारे प्रहरी संगठनभित्रै असन्तुष्टि बढेपछि प्रहरी महानिरीक्षक सचिवालयले पुनरावलोकन गराउँदा ‘टर्चर’ दिएर गलत बयान दिन लगाएको र अनुसन्धानमा खुलेको विषय नै नसमेटेको खुलेपछि सचिवालयले प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

बस्नेत नेतृत्वको समितिमा रहेका तत्कलीन एसपी उत्तमराज सुवेदी र गणेश रेग्मीको हस्ताक्षर बिना बस्न्यातले सो प्रतिवेदन बुझाएको थियो ।

यसैबीच पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलिपसिंह विष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले कञ्चनपुर प्रहरीलाई आईतबार निर्देशन दिएको छ ।

कञ्चनपुर भीमदत नगरपालिका २ स्थित खोन्टीकी पन्तको शव २०७५ साउन ११ गते त्यही नगरपालिकाको वडा नम्बर १८ निम्बुखेडा खोला किनारको उखुबारीमा फेला परेको थियो ।