पेस्तोल र गोलीसहित झापा र रौतहटबाट ३ पक्राउ

पेस्तोल र गोलीसहित झापा र रौतहटबाट ३ पक्राउ

काठमाडौं,२७ फागुन ।

झापा र रौतहटमा पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । झापा, दमक नगरपालिका–३ मावाखोलाबाट मोरङ मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला बस्ने ४४ वर्षीय मेघराज गौतम पेस्तोलसहित पक्राउ परेका हुन् ।

उनको साथबाट कटुवा पेस्तोल १ नाल, गोली १ राउन्ड र २ वटा खोका बरामद भएको प्रहरीले जनाएको छ । यस्तै रौतहट, गढिमाई नगरपालिका–६ धरमपुरबाट कटुवा पेस्तोल १ थान र गोली ३ सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही धनकौल गाउँपालिका–६ छर्तौल बस्ने २६ वर्षीय राजेश राम र सोही ठाउँ बस्ने २१ वर्षीय सुरज राम रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीले बिआर ३० यु ८३८२ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजेशलाई कटुवा पेस्तोल १ थान र गोली राउन्ड २ राउन्ड तथा सुरजलाई कटुवा पेस्तोलमा लाग्ने गोली १ राउन्ड र मोबाइल २ थानसहित पक्राउ गरेको हो ।