विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई अदालत लगिँदै

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई अदालत लगिँदै

काठमाडौँ ,२७ फागुन ।

परीक्षामा तोकिएभन्दा कम अंक आएपछि विधार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई म्याद थपका लागि अदालत लैजाने तयारी भएको छ। महानगरीय प्रहरी वृत बानेश्वरले जडिबुटीको जागृती एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यलाई थप अनुसन्धानका लागि म्याद लिन अदालत लैजाने तयारी गरेको हो ।

प्रहरीले कर्मचार्यलाई शनिबार नियन्त्रणमा लिएको थियो। आइतबार र सोमबार सार्वजनिक विदा परेकाले उनलाई पक्राउ परेको तीन दिनपछि मात्र अदालत उपस्थित गराउन लागिएको हो। सामान्यतया पक्राउ गरेको २४ घण्टाभित्र अदालत उपस्थित गराउनु पर्छ, हिरासतमा थप समय राख्नका लागि।

प्रहरीले बालबालिकासम्बन्धी ऐन लगाएर कर्मचार्यमाथि अदालतबाट म्याद लिने तयारी गरेको छ। ऐनको परिच्छेद ८ मा रहेको ‘घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने’ कसुरमा दोषीलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म सजाय हुन सक्ने उल्लेख छ।

कर्मचार्यविरुद्ध बाल अधिकार राष्ट्रिय अभियान र जागृती एकेडेमीले आवश्यक कारबाहीका लागि निवेदन दिएको वृतका प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिए।