प्रदेश ५ मा आजदेखि १२ वटै जिल्लाका क्वारेन्टाइनमा रयापिड टेस्ट सुरु

प्रदेश ५ मा आजदेखि  १२ वटै जिल्लाका क्वारेन्टाइनमा रयापिड टेस्ट सुरु

रुपन्देही ,२८ चैत्र।

प्रदेश ५ का १२ वटै जिल्लामा क्वारेन्टाइनमा बसेकाहरुको शुक्रबार (आज) देखि र्‍यापिड डायगोनोस्टिक टेस्ट (आरडीटी) बाट कोरोना परीक्षण हुने भएकाे छ । प्रदेश ५ सामाजिक विकास मन्त्रलयले सबै जिल्लाका ३ सय ८ क्वारेन्टाइनमा रहेकाहरुको रयापिड टेष्ट किटको माध्यमबाट कोरोना परीक्षण थालेको जनाएको छ।

दुई सातासम्म क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण भए नभएको पत्ता लगाउनका लागि रयापिड टेस्ट विधिमार्फत परीक्षण गरिएको हो। मन्त्रालयका अनुसार संघीय सरकारले पठाएको ५ हजार किट १२ वटै जिल्लामा पठाइएको छ। विदेशबाट आएकाहरुबाट कोरोना संक्रमण फैलनसक्ने भन्दै संघीय सरकारले देशैभर क्वारेन्टाइनमा बसेकाहरुको रयापिड टेस्ट मार्फत कोरोना परीक्षण थालेको छ।

प्रदेश ५ मा २ हजार ५ सय ७२ जना क्वारेन्टाइनमा बसेका छन्। प्रत्येक क्वारेन्टाइनमा स्वास्थ्यकर्मी पुगेर किट प्रयोग गरी रगतको माध्यमबाट रयापिडटेस्ट गरिने प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश ५ का निर्देशक डा। राजेन्द्रकुमार गिरीले जानकारी दिए। उनका अनुसार यदि रयापिड टेस्टमा कोरोना संक्रमण देखिएमा थप उपचारका लागि अस्पताल भर्ना गरी उपचार गरिने र नेगेटिभ आएमा पुनः एक हप्ता होम क्वारेन्टाइनमा बस्नु पर्नेछ। कोरोना लक्षण देखिएका बिरामीहरुको भने अस्पतालको आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्ने गरिएको छ।

रुपन्देहीमा भने बुधबार दुई स्थानीय तहका क्वारेन्टाइनमा रयापिड टेस्ट गरिएको थियो। तिलोत्तमा नगरपालिकामा १० र शुद्धोधन गाउँपालिकामा ११ जनामा गरिएको परीक्षणमा कोरोना संक्रमण नभएको देखिएको निर्देशक गिरीले जानकारी दिए।

सामाजिक विकास मन्त्रालयले २ जिल्ला हेर्ने गरी ६ वटा टोली मार्फत परीक्षण गर्न थालेको छ। विहिबारदेखि सुरु भएको रयापिड टेस्ट क्वारेन्टाइनमा बसेकाहरुलाई घर राख्न सुरक्षित छ कि छैन भनेर गर्न लागिएको हो। विदेशबाट आएका सबै क्वारेन्टाइनमा समेत बसेका छैनन्। सम्भव भएसम्म प्रत्येक पालिकालाई विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न प्रदेश सरकारले निर्देशन समेत दिएको छ। आइसोलेसनमा भर्ना भएका कोरोना आशंकाका बिरामीको भने स्वाब संकलन गरी आरटी पिसिआर मेसिनबाट नै परीक्षण गर्ने गरिएको छ।

प्रदेश ५ मा २६ जना आइसोलेसनमा

प्रदेश ५ का विभिन्न अस्पतालमा कोरोना आशंकामा आइसोलेसनमा राखिएका १ सय ८८ जना बिरामीको स्वाब संकलन भएको छ। यसमध्ये १ सय ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्यको रिपोर्ट आउन बाँकी छ। भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोभिड–१९ को परीक्षण हुन थालेपछि रिपोर्ट आउने क्रम समेत बढेको छ। प्रदेश जनस्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदकुमार गिरीका अनुसार कोरोना बिरामीका लागि उपचार गर्ने गरी तयार पारिएका ४ वटा अस्पतालमा १४ र बाँकी अस्पतालहरुमा १२ जना गरी २६ जनाको आइसोलेसनमा भर्ना गरी उपचार भइरहेको छ।

गत आइतबारदेखि भैरहवामा सञ्चालनमा आएको प्रदेश कोरोना परीक्षण प्रयोगशालामा दैनिक १० देखि १५ वटासम्मको परीक्षण हुने गरेको छ।