पर्साका जनप्रतिनिधिमाथि भारतमा कोरोना संक्रमण फैलाउने योजना बुनेको आरोप

पर्साका जनप्रतिनिधिमाथि भारतमा कोरोना संक्रमण फैलाउने योजना बुनेको आरोप

वीरगन्ज ,२८ चैत्र ।

भारतीय सुरक्षाकर्मी र मिडियाले पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियाले भारतमा कोरोनाको महामारी फैलाउने षडयन्त्रमा लागेको आरोप लगाएका छन्।

भारतमा त कोरोना संक्रमितको संख्या ६ हजार नाघिसकेको छ। २ सय बढीले ज्यान समेत गुमाइसकेका छन्।

भारतमा बढिरहेको कोरोना संक्रमितको संख्याले नेपालका सीमावर्ती क्षेत्र उच्च जोखिममा छ। त्यसैले पनि सीमा नाका क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ। ठूलो संख्यामा नेपालतर्फ सशस्त्र र नेपाल प्रहरी तैनाथ छन् भने भारततर्फ एसएसबीका जवान दिनरात खटिरहेका छन्।

सीमा नाका ठप्प रहेका बेला पर्साका एक गाउँपालिका प्रमुखले भारतमा कोरोना भाइरसको संक्रमण फैलाउने योजना बनाएको भारतीय सञ्चार माध्यमहरूले दाबी गरेका छन्। भारतीय मिडिया जिन्युजका अनुसार पर्साका जालिम मुखियाले ४०र५० कोरोना संक्रमितलाई भारत प्रवेश गराउने योजना बुनेका हुन्।

भारत बिहार राज्यको पश्चिमी चम्पारणका जिल्ला अधिकारीले प्रहरी अधिकारीलाई पर्साका जालिम मुखियाले भारतमा कोरोनाको संक्रमण फैलाउने योजना बनाएको एसएसबीले जनाएको भनेर चिट्ठी लेखेका छन्। अप्रिल ६ तारिख अर्थात चैत २४ गते चिट्ठी लेखिएको छ।

उक्त चिट्ठीमा जालिम मुखिया अवैध हतियार र लागुऔषधको तस्कर रहेको समेत दाबी गरिएको छ। जिन्युजले प्रशारण गरेको समाचारमा भनिएको छ, ‘नेपालमा पनि धेरै मस्जिद छन्। ती मस्जिदमा कोरोना भाइरस संक्रमित व्यक्तिलाई लुकाएर राखेका छन्। र उनीहरूलाई सीमा नाका भएर भारत प्रवेश गराउने योजना बुनिरहेका छन्।’