राप्ती पशु आहार उद्योगको उद्घाटन

राप्ती पशु आहार उद्योगको उद्घाटन

पुष २६ गते । पूर्वी चितवनको राप्ती नगरपालिका ४ मा निर्माण गरिएको पशु दाना उद्योगको शनिवार उद्घाटन गरिएको छ । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले एक कार्यक्रमका बीच उद्घाटन गरे । कृषि मन्त्री लामाको पहलमा प्रदेश सरकार,राप्ती नगरपालिका र नगर भित्र रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरुको सयुक्त लगानीमा उद्योग निर्माण गरिएको हो । प्रदेश सरकारको ५० प्रतिशत अनुदान,राप्ती नगरपालिकाको १० प्रतिशत अनुदान र वाँकी दुग्ध सहकारीहरुको लागतमा उद्योग स्थापना गरिएको राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समितिका संयोजक डिल्ली प्रसाद थपलियाले वताए । उनका अनुसार उद्योग निर्माणमा कुल १ करोड ९० लाख २८ हजार,६८४ रुपैया खर्च भएको छ । उद्योग उद्घाटन गर्दै सहकारी मन्त्री लामाले उत्पादनमुखी व्यवसायबाट मात्रै समृद्धी संभव हुने वताए । राप्ती नगरपालिकामा भण्डारा दुग्ध उत्पादक सहकारी संस्था,जनमुखी वहुदेश्यीय सहकारी संस्था,परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्था, शहिद वलराम दुग्ध उत्पादक सहकारी संस्था, नवउद्यमी दुग्ध उत्पादक सहकारी संस्था,भगवती दुग्ध उत्पादक सहकारी संस्था रहेका छन् ।

राप्ती नगरपालिकामा दैनिक २७ हजारदेखी ३० हजार लिटर दुध उत्पादन हुदै आएको छ । उद्योगबाट प्रति घण्टा एक टन दाना उत्पादन हुने नगरस्तरी दुग्ध उत्पादक सहकारी संस्था समन्वय समिति संयोजक थपलियाले वताए । राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समितिका संयोजक डिल्ली प्रसाद थपलियाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांई,जनमुखी वहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्ण वहादुर थापा, परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामेश्वरसिंह ओली, नवउद्यमी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामचन्द्र पाठकले मन्तव्य राखेका थिए ।