छैठौ राष्ट्रिय उद्योग दिवस मनाइयो
चितवन, ९ मङ्सिर
छैठौ राष्ट्रिय उद्योग दिवस मनाइयो भरतपुर । चितवनमा छैठौ राष्ट्रिय उद्योग दिवस २०७७ मनाइएको छ । ‘उद्योग र पूर्वाधार, समृद्धिको आधार’ भन्ने नारा सहित दिवस मनाइएको हो ।
भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्तमा आयोजनामा मनाइएको दिवसमा चितवनमा कोरोना भाइरसले पारेको प्रभाव औधोगिक पुनरुत्थानका उपायहरु बारे गरिएको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदन अनुसार कोरोनाका कारण चितवनका ११.२० प्रतिशत उद्योगहरु बन्द भएका छन् ।
चितवनमा १३ हजार ११६ वटा उद्योगहरु दर्ता रहेको घरेलु तथा साना उद्योग कार्यालयले जानकारी दिएको छ । यी उद्योगहरुले ५५ हजार ३ सय ९२ जनालाई रोजगारी दिएको कार्यालयको तथ्यांक छ । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्तीले कोरोनाका कारण चितवनका ११.२० प्रतिशत र देशभरका ६१ प्रतिशत उद्योगहरु बन्द भएको बताए ।
कोरोनाका कारण उद्योगहरुमा २२.५ प्रतिशत कामदार÷कर्मचारी कटौती भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सरकारले उद्योगहरुको प्रबद्र्धन गर्ने उद्देश्यले नै उद्योग दिवस मनाउन थालेको बताए ।
सार्वजनिक–नीजि साझेदारीको अवधारणामा औधोगिक क्षेत्रको विकास गर्न सकिने भनेर संविधानमा नै व्यवस्था गरेको उनले बताए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले महानगरमा औधोगिक विकासका कामहरु भइरहेको बताए । लघु उद्यमी उत्पादन गर्ने, औधोगिक सूचना केन्द्र स्थापना गर्ने, औधोगिक शिक्षालय निर्माण गर्ने लगायत विभिन्न कार्यक्रमलाई महानगरले यस आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश गरेको उनले बताए ।
चितवन उद्योग संघको अध्यक्ष राजु पौडेलेको अध्यक्षतामा भएको कार्याक्रममा शसस्त्र प्रहरी बल नेपाल नं ३ गढिमाई बाहिनी मुख्यालयका शसस्त्र प्रहरी नायव महानिरीक्षक मनदिप श्रेष्ठ, भरतपुर महानगरपालिकाका उद्योग प्रबद्र्धन शाखा प्रमुख अनुज घिमिरे, आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख घनश्याम पन्थी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङ लगायतको उपस्थिति थियो ।