खैरहनिमा लैंगिक हिंसा विरुद्धको अभियान शुभारम्भ
चितवन,१० मंसिर ।
चितवनको खैरहनिमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबार सुरु भएको छ । खैरहनी नगरपालिका,ईलाका प्रहरी कार्यालय खैरहनिको सयुक्त आयोजनामा अभियानको शुभारम्भ गरिएको हो । खैरहनी ६ पुरानो पर्सा चोकमा नगर उपप्रमुख सुनिता थपलियाले मैनबत्ती बालेर अभियानको उद्घाटन गरिन । सो अवसरमा बोल्दै उपप्रमुख थपलियाले ब्यक्ति स्वयम आफैँबाट हिंसा अन्त्यका लागि प्रतिबद्ध हुनु पर्ने बताइन् । सबै खाले हिंसा अन्त्य भए मात्र समुन्नत समाज निर्माण हुने उनको भनाइ थियो ।
१६ दिने अभियान सांकेतिक रुप भए पनि कुनै पनि बेला हिंसा हुन नहुने उपप्रमुख थपलियाले बताइन् । अभियानको अबधीभर विभिन्न कार्यक्रम आयोजना गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङले जानकारी दिइन । विभिन्न संघसंस्थाको संयोजनमा कार्यक्रम हुनेछन् । १६ दिने अभियानका अवसरमा लैंगिक हिंसा अन्त्य सम्बन्धि अन्तरक्रिया ,महिला पुरुष समबिकास तालिम,आइपिएम कृषक पाठशाला लगायत समाजमा रहेको कुरिती,कुप्रथा,लैंगिक हिंसा,मानव बेचबिखन तथा ओसारपसार विरुद्धको कार्यक्रम गरि अभियानको समापन गरिने महिला बालबालिका शाखा प्रमुख गुरुङले बताइन् ।
उपप्रमुख थपलियाको अध्यक्षतामा भएको अभियान उद्घाटनका अवसरमा स्थानीय शिक्षा अधिकारी राजु बानियाँ,खैरहनि १ का वडा अध्यक्ष भुमी प्रसाद कंडेल ,६ का अध्यक्ष रामशरण पाण्डे,७ का अध्यक्ष मनेजर महतो,स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी , ईलाका प्रहरी कार्यालय खैरहनिका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगर,कार्यपालिका सदस्यहरु,महिला तथा बालबालिका शाखा उपप्रमुख बिमला रानाभाटसहित नगरपालिकाका अन्य कर्मचारी ,युवा स्वर्ण तारा क्लबका अध्यक्ष मनोज खड्कीसहित पदाधिकारीहरु,स्थानीय टोल बिकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।