जलबिरे जिप दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

जलबिरे जिप दुर्घटना अपडेट  : मृतक र घाइतेको पहिचान खुल्यो

चितवन, २६ मंसिर ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ जलबिरेस्थित भित्री सडकमा आज बिहान ना ४ च ५०५० नम्बरको बलेरो पल्टिँदा मृत्यु हुने र घाइते भएकाहरुको पहिचान खुलेको छ । मृत्यु भएका र घाइतेहरु सबै इच्छाकामना–६ का बासिन्दा रहेको खुलेको छ । मृत्युहुनेमा बलेरो चालक इच्छाकामना–६ बस्ने बर्ष ३० को निर्मल गुरुङ र बलेरोमा सवार सोहि ठाउँकी बर्ष ५० की खिमा कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइते ईच्छाकामना–६ बस्ने बर्ष ५० की चन्द्र माया चेपाङ (गम्भिर), बर्ष २२ की कबिता चेपाङ, बर्ष २० की सुकमती चेपाङ, बर्ष ५१ को तिलक बहादुर गुरुङ, बर्ष ५२ की तुलिमाया गुरुङ (गम्भिर), बर्ष ४६ की सिता गुरुङ (गम्भिर) र बर्ष ३७ को बालकृष्ण भट्टराईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । अन्य घाइते बर्ष २३ की दिया क्षेत्री, बर्ष ४० की सन्तमाया भुजेल, बर्ष ३५ की ज्योती घर्ती, बर्ष ३८ की मिनमाया गुरुङ र बर्ष ३५ की पुतली माया गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।
चण्डिभञ्ज्याङबाट राजमार्ग तर्फ झर्ने क्रममा बलेरो अनियन्त्रित भई पल्टिँदा विद्युत पोलमा ठोक्किन पुगेको थियो । विद्युतको करेन्ट लागेर दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो । ‘डाँडाबाट मुग्लिन बजारतर्फ झर्ने क्रममा घुमाउरो बाटोमा स्पेश नपुग्दा गाडी पल्टिएको हो’, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले भने ।