स्वस्थानी र ऋषिपञ्चमी व्रत कथाका पाना च्यात्न नेकपा सांसदको माग
काठमाडौं,२८ माघ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद योशोदा गुरुङ सुवेदीले स्वस्थानी व्रत कथाका पानाहरू च्यात्नुपर्ने बताएकी छिन्।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले छाउपडी जस्तो संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रत कथा र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्यात्नुपर्ने माग गरेकी हुन्।
‘छाउजस्ता परम्परा र संस्कृतिलाई मजबुत पार्ने स्वस्थानी ब्रत कथा र ऋषी पञ्चमी ब्रत कथाका पाना च्यात्न सकोस्’ उनले भनिन् ‘सम्माननीय सभामुखज्यूमार्फत म यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु।’
उनले सरकारले चलाएको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य रहेको बताइन्। ‘सदियौंदेखि महिलालाई जगडेर राखेको यो कुरीतिलाई हटाउन केबल बारीमा भएको छाउगोठ मात्र भत्काएर हुँदैन। मान्छेको मन मस्तिकबाट छाउगोठ भत्काउनुपर्छ,’ उनले भनिन्।
उनले यस्ता कुरीति हटाउन देशको हरेक क्षेत्रबाट सबैको उतिकै खाँचो रहेको बताइन्। के गाउँ, के सहर, के पश्चिम, के पूर्व कुनै न कुनै रुपमा छाउ भत्काउन सरकार लगायत सबै नागरिकको खाँचो रहेको भन्दै सरकारको ध्यानाकर्षण गरिन्।