पर्यटकीय नगरी सौराहामा फुड फेस्टिवल सुरु

पर्यटकीय नगरी सौराहामा फुड फेस्टिवल सुरु

माघ २८ गते । चितवनको पर्यटकीय क्षेत्र सौराहामा मंगलवार फुडफेस्टिवल सुरु भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसियसन सौराहाको आयोजनामा सिसुवार चौरमा सुरु भएको फेस्टिवलको वागमती प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्घाटन गरे । सो अवसरमा मन्त्री नेपालले पर्यटनलाई जनतासंग जोड्नकै लागि प्रदेश सरकारले होमस्टेको अवधारणा अघि सारेको वताए । मन्त्री नेपालले प्रदेशको प्रत्येक स्थानीय तहमा एक पर्यटकीय गन्तव्य वनाउन प्रोत्साहन गरिरहेको वताए । साथै उनले लुकेर वसेका पर्यटकीय गन्तव्यहरुको विकास गर्नु पर्ने वताए । १४ औं सौराहा फुडफेस्टिवलका संयोजक धु्रव गिरीले खानासंगै संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न फेस्टिवल आयोजना गरिएको वताए । प्रेम दिवसको अवसर पारेर रेवानले प्रत्येक वर्ष फेस्टिवल आयोजना गर्दै आएको छ । रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल, रत्ननगर नगरपालिका प्रमुख नारायण वन,क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराई,रत्ननगर ७ का वडाध्यक्ष लालवहादुर भट्ट,थारु कल्याणकारीणी सभा चितवनका सभापति ललित चौधरी,रेवान महिला समुहकी अध्यक्ष माला दाहालले मन्तव्य राखेका थिए ।
सो फेष्टिवलमा ४० वटा खानाका स्टलहरु रहने छ । फेष्टिवलमा स्थानीय जातजाती तथा विदेशी खानाको परिकार संगै स्थानीय कला,संस्कृति,भेषभुषाको प्रर्दशन गरिने फुड फेष्टिवलका संयोजक धु्रब गिरीले बताए । फेष्टिवल अन्तर्गत सौराहाको हात्तीचोक देखि ड्याक सम्म सडकमै खाने र सडमकै रमाउने व्यवस्था मिलाइने छ । सडक किनारमै खाने र सडकका सांस्कृतिक कार्यक्रम अबलोकन गर्ने कार्यक्रम रहेको गिरीले जानकारी दिए ।
पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुरेण्टमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । फेष्टिवल अन्तर्गत मेयरकप भलिवल प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता,वेटर रेस,महिलाहरुको म्युजिकल चेयर,वालवालिकाको बेलुन फुटाइ,डारी तान्ने,अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटक लगायतका कार्यक्रम हुनेछन । प्रेम दिवसको दिन फेष्टिवल प्रवेशका लागि काटिने टिकटबाट संकलन भएको पैसा मध्य ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई दिइने आयोजकले जनाएको छ । भण्डै साढे दुई करोडको कारोवार हुने अनुमान गरिएको फुड फेष्टिबलमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक गिरीले बताए ।