कोरोनाको सङ्क्रमण नियन्त्रण गर्न सकिने यी दाबी
एजेन्सी,२८ फागुन
केही महिनायता विश्वमा कहर भएको छ, कोरोना भाइरस । तर, अहिलेसम्म यसको उपचार र यसको औषधि पत्ता लागिसकेको छैन । तर, पनि यसका लागि विभिन्न स्वास्थ्य सल्लाहहरु आइरहेका छन् । सामाजिक सन्जाल र नेपाली मिडियामा पनि कोरोना भाइरसबारे अनेक विषय देख्न सकिन्छ । तर, के ती सबै विश्वस्त हुन् त ?
नेपाली सामाजिक सन्जाल प्रयोगकर्ताहरुले जे कुरालाई कोरोना रोक्न सक्ने भन्दै पोस्ट गरिरहेका छन्, ती कति सत्य छन् ? बिबिसीको सहयोगमा हामीले केही यस्ता अफवाहबारे भ्रम हटाउन यी सामग्री प्रकाशन गरेका छौँः
१. लसुन
सामाजिक सन्जाल फेसबुकमा अत्यन्त धेरै पोस्टहरु लसुन खाँदा कोरोना भाइरस संक्रमण नहुने लेखिएको पाइन्छ ।
तर, यो सत्य होइन । विश्व स्वास्थ्य संगठनले नै यसबारे भनेको छ, ‘लसुन एउटा स्वास्थ्य खानेकुरा त हो, तर यसले कोरोना भाइरसबाट बचाउन सक्छ भन्ने कुनै प्रमाण भेटिएको छैन ।’
धेरै जसो सन्दर्भमा लसुनजस्ता खानेकुराहरुले विभिन्न रोग प्रतिरोधात्मक क्षमता त बढाउँछन् तर लसुनले नै कोरोना भाइरस संक्रमणबाट बचाउन सक्ने भन्ने चाहिँ होइन ।
बरु, चीनको साउथ चाइना मर्निङ पोस्टले एक महिलाले १.५ किलो लसुन खाँदा उनको घाँटीमा समस्या आएको र त्यसको उपचारका लागि उनी अस्पतालमा भर्ना हुनु परेको उल्लेख गरेका थियो ।
हामीलाई थाहा छ, पर्याप्त पानी र अन्य फलफूल खाँदा स्वास्थ्य रहन सकिन्छ तर यी खानेकुराले कोरोना भाइरसविरुद्ध लड्नकै लागि सहयोग गर्छ भन्ने चाहिँ होइन ।
२. यी खनिज
जोर्डन साथर एक प्रसिद्ध युट्युबर हुन् । उनीसँग विभिन्न प्लेटफर्ममा लाखौँ फलोअर्स छन् । उनले अहिले पनि बारम्बार एउटा विशेष खनिज खाँदा धेरै फाइदा हुने भन्दै पोस्ट गरिरहेका छन् । विदेशमा बस्ने नेपाली तथा नेपाली सामाजिक सन्जाल प्रयोगकर्ताले उनका कुरालाई रिट्वीट र सेयर गर्न थालेका छन् ।
तर, क्लोराइड हुने उक्त पेय पदार्थ पिउन नहुने भन्दै गत वर्ष नै अमेरिकी खाद्य तथा औषधि विभागले यसका नराम्रा पक्षबारे एउटा रिपोर्ट नै प्रकाशन गरेको थियो ।
३. मदिरा सेवन वा मदिराबाट बनाउने स्यानिटाइजर
पछिल्लो समय नेपाली बजारमा पनि मास्कको प्रयोग गरौँ, ह्यान्ड स्यानिटाइजर प्रयोग गरौँ भन्दै विभिन्न पोस्टहरु आइरहेका छन् । नेपालमा मात्र होइन, विश्वमा पनि ह्यान्ड स्यानिटाइजरको अभाव देखिन थालेको छ । अनि सामाजिक सन्जालमा कसरी मास्क र ह्यान्ड स्यानिटाइजर घरमा नै बनाउने भन्ने विषयमा अनेक भिडियोहरु आइरहेका छन् ।
तर, वैज्ञानिकहरुले घरमा नै बनाउने स्यानिटाइजरले झन् छालामा अनेक समस्या ल्याउने भन्दै यसमा पनि सचेत रहन बताएका छन् ।
अर्कोतिर, नेपालमा कतिपय पोस्टहरुमा मदिरा सेवन गर्दा कोरोना नसर्ने पनि बताइएको छ । तर, यो सत्य होइन ।
४. प्रत्येक १५ मिनेटमा पानी पिउने
अहिले जापानका एक चिकित्सकको उदाहरण दिँदै वा उनलाई उद्धृत गर्दै फेसबुकमा एउटा पोस्ट भाइरल भएको छ । त्यो पोस्टमा भनिएको छ, प्रत्येक १५ मिनेटमा पानी पिउने हो भने जस्तासुकै भाइरस पनि शरीरबाट बाहिरिन सक्छन् । यो पोस्ट विश्वभर २५ लाखभन्दा बढी सेयर भएको छ ।
तर, के पानी पिउँदा यस्तो हुन्छ त ?
प्रोफेसर ब्लुमफिल्डले भनेका छन्, ‘यस्तो हुन्छ भन्ने कुनै प्रमाण छैन ।’ तर, बिर्सनु हुँदैन पानी बारम्बार पिउँदा हाम्रो स्वास्थ्यमा राम्रो चाहिँ हुनसक्छ ।
५. तातो पानी पिउने, आइसक्रिम नखाने
अर्को एउटा पोस्ट पनि अहिले सामाजिक सन्जालमा निकै सेयर भएको छ । त्यो हो— तातो पानी पिउने ।
तर, विभिन्न अध्ययनहरुले बताएका छन् कि तातो पानी पिउँदैमा कुनै पनि भाइरस शरीरमा मर्दैन वा बाहिर जाँदैन । योमात्र होइन, कतिले त घाममा बसेमा पनि कोरोना भाइरस नसर्ने दाबी गरिरहेका छन् ।
तर, अहिलेसम्म वैज्ञानिकहरुले यस्तो प्रमाण भेटिएको दाबी गरेकै छैनन् ।