पूर्वमन्त्री बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा विप्लवका देव गुरूङ पक्राउ

पूर्वमन्त्री बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा विप्लवका देव गुरूङ पक्राउ

काठमाडौं, २८ फागुन ।

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा नेत्रविक्रम चन्द विप्लवका एक जना पक्राउ परेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भक्तपुर नेता देव गुरूङ पक्राउ परेका हुन्। उनलाई भक्तपुरको सुकुम्बासी बस्तीबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले गुरूङलाई नियन्त्रणमा लिएको हो। बम बिस्फोटमा संलग्नहरूको पहिचान भइसकेको दाबी गर्दै प्रहरीले खोजी कार्य भइरहेको पनि बताएको छ।

बुधबार बिहान रिमोर्ट कन्ट्रोलबाट बाँस्कोटाको घरमा प्रेसर कुकर बम बिस्फोट हुँदा घरको पर्खाल भत्किएको छ भने छिमेकीका घरका सीसा र एउटा भ्यानमा क्षति पुगेको छ।

यसैगरी, बाँस्कोटाको घरमा बुधबार बिहान भएको बम विष्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ।

घटनास्थलमा भेटिएको उक्त पार्टीको पर्चामा बाँस्कोटालाई किन कारबाही भनेर १० बुँदा लेखिएको छ।

उक्त समूह नजिक रहेको इरातोखबर अनलाइनले पर्चाको पूर्ण विवरण छापेको छ।

विप्लव समूहले मन्त्री हुँदा बाँस्कोटाले विभिन्न परियोजनामा घुस मागेको र अर्कातिर आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउने काम गरेकाले कारबाहीस्वरूप विष्फोट गरिएको बताएको छ।

विप्लव समूहले पर्चामा बाँस्कोटामाथि लगाएका १० आरोप यस्ता छन्:

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले।

२. २४ अर्बको स्याटेलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले।

३. १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरूपयोग गरेकाले।

४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले।

५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा-सुविधाका नाममा करोडौं हिनामिना गरेकाले।

६. सरकारको प्रवक्ता पदको दुरूपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले।

७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासीवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले।

८. राष्ट्र, जनता र क्रान्तिका विरूद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले।

९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले।

१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले।