दाइजो दिन नसकेपछि विवाह नै रोकियो !

दाइजो दिन नसकेपछि विवाह नै रोकियो !

जनकपुरधाम,२८ फागुन ।

विवाहमण्डप बनिसकेको थियो । आफन्तलगायत सबै बेहुलाको प्रतीक्षामा थिए । तर, विवाहका दिन बेहुला आएनन् । बेहुला नआएपछि विवाह नै भाँडियो । बेहुला नआउनुको कारण थियो, केटा पक्षले मागेको दाइजो दिन नसक्नु ।

धनुषाको नगराइन नगरपालिकास्थित जटहीका बेचनी सदाकी १९ वर्षीया छोरी पूजा सदाको विवाह धनुषाकै भुतही निवासी रोहित सदाका २१ वर्षीय छोरा सुशील सदासँग २५ फागुनमा हुने तय भएकोे थियो । तर, आर्थिक अभावका कारण बेचनीले दाइजोमा मोटरसाइकल दिन नसकेपछि सुशील सदा विवाह गर्न नै आएनन् ।

ऋण काढेर भए पनि छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गरेको बेचनी विवाह नै नभएपछि मारमा परेका छन् । साहुसँग चर्को ब्याजमा तीन लाख रुपैयाँ ऋण काढेर सम्पूर्ण तयारी गरे पनि विवाह नै नभएपछि बेचनी थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न पन्डाल पनि लगाइएको थियो । ‘हामी भन्दै थियौं, पैसाको व्यवस्था भएन । विवाहपछि मोटर साइकल पनि दिन्छु । तर, बेहुला पक्षले मानेनन्,’ बेचनीले भनिन् ।

विवाह नभएपछि पूजाको आँसु रोकिएको छैन । स्थानीय केही व्यक्ति मोटरसाइकल दिएर पनि बिहे गर्न सुझाव दिइरहेका छन् । बिहेको वातावरण निर्माणमा जुटेका छन् । तर, अब कुनै पनि हालतमा त्यो घरमा विवाह नगर्ने अडानमा छिन् पूजा । उनले एउटा मोटरसाइकलका लागि विवाह नगर्ने बेहुलाले उनीसँग विवाह गरेपछि झन् दाइजोको लोभमा ज्यान पनि लिन सक्ने बताइन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले घटनाको सत्यतथ्यबारे आफूले बुझिरहेको बताए । उनले दाइजोका कारण विवाह रोकिएकाले पीडकलाई कानुनी कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘बेहुली पक्षले जिल्ला प्रशासन कार्यालयमा जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामी बेहुला पक्षमाथि कारबाही गर्छौं ।’

प्रदेश २ मा बालविवाह र दाइजो प्रथाको बिगबिगी नै छ । सामाजिक प्रतिष्ठामाथि नै खुलेयाम खेलबाड भइरहे पनि सरकार रमिते बनेका छन् । दाइजोका कारण विवाह रोकिएको यो एउटा उदाहरण मात्र हो । दाइजो नदिएकै कारण विवाह रोकिने र विवाह भइसकेपछि पनि हत्या गरिने जस्तो जघन्य अपराध निरन्तर हुँदै आएको छ ।

सरकारले बालविवाह र दाइजो प्रथालाई निर्मूल पार्ने भन्दै आए पनि यो व्यवहारमा लागू हुन सकेको छैन । दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारका रूपमा अत्यन्त हलुका ढंगले लिइएको पाइन्छ । सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक रहेको कानुन व्यवसायी राजकुमार महासेठले बताए । महासेठले भने, ‘दाइजोलाई सामान्य उपहार जस्तो बुझिन्छ । उपहार त दिए पनि हुन्छ, नदिए पनि हुन्छ । तर, दाइजो त सदियौंदेखि समाजमा जरा गाडेर बसेको छ ।’

संस्कृतिविद् पुनम झाका अनुसार दाइजो प्रथाका नकारात्मक पाटाहरू धेरै छन्, यसको प्रभाव बेहुली पक्षमा पर्छ, जुन मगनीदेखि नै सुरु हुन्छ । उनले अधिकांश विवाहमा ९विशेषतः तराई–मधेसमा० बेहुली पक्ष्।ले बेहुलापक्ष्।लाई के के दिनुपर्छ भनेर छिनोफानो गरिने जानकारी दिइन् । सर्त पूरा भए मात्र विवाह निश्चित हुन्छ ।

दाइजोका कारण तराईमा गर्भपतनको घटना बढ्दै गएको झाको मनाइ थियो । उनी दाइजोलाई मनोवैज्ञानिक आतंक भएको तर्क गर्छिन् । ‘दाइजोको तराजुमा सामग्रीसँगै तौलिएकी बेहुलीलाई म एक पुरुष समान छैन भन्ने सन्देश दिइरहेको छ,’ झाले भनिन् ।

यो दृश्य देखेर हरेक अविवाहित केटाले आफू ‘सुपेरियर’ भएको र हरेक अविवाहित केटीले आफू ‘इन्फेरियर’ भएको महसुस गर्ने संस्कृतिविद् मैथिलीले बताइन् । असमान ‘जेन्डर आइडेन्टिटी’ अर्थात् लैंगिक पहिचान निर्माण गर्न दाइजो प्रथाले भूमिका खेलेको कानुन व्यवसायी महासेठको भनाइ छ ।