सुनिल थापाले गरे राप्रपा एकीकरण बहिष्कार
काठमाडौं, २८ फागुन ।
राप्रपा र राप्रपा (संयुक्त)बीचको एकता घोषणासभालाई राप्रपा (सयुक्त)का नेता सुनिल थापाले बहिष्कार गरेका छन् ।
कमल थापा नेतृत्वको राप्रपासँग बुधबार पार्टी एकतामा अध्यक्ष पशुपतिशम्शेर राणा गए पनि थापाले भने उक्त घोषणा सभा बहिष्कार गरे। गत शनिबार थापा र राणाबीच १० बुँदे सहमति गर्दै पार्टीमा तीन अध्यक्ष रहने गरी एकीकरण गर्ने सैद्धान्तिक सहमति भएको थियो। राप्रपाका प्रचार विभाग प्रुमख मोहन श्रेष्ठले एकता सभा भव्य भएको बताए।
एकता सभामा थापा किन सहभागी नभएको भन्ने प्रश्नमा श्रेष्ठले सेतोपाटीसँग भने, ‘उहाँ (सुनिलबहादुर थापा)लाई मैले आज देखिनँ। तर उहाँका साथीहरू भने उपस्थित हुनुहुन्थ्यो।’
थापाले आफू गणतन्त्र पक्षधर बताउने गरेका छन्। राजासहितको प्रजातन्त्र मानेर पार्टी एकीकरण भएपछि थापाले बहिष्कार गरेका हुन्। राप्रपाका संस्थापक नेता स्व.सुर्यबहादुर थापाका छोरा समेत रहेका नेता थापाले यसअघि विक्रम पाण्डे लगायतका रापपाका नेतासहित काँग्रेस वा समाजवादी मध्ये एक पार्टीमा प्रवेश गर्ने तयारी गरेको चर्चा चलेको थियो ।