किसान अल्छि भए – डल्लाकोटी

किसान अल्छि भए –   डल्लाकोटी

चितवन,२८ फागुन  ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले किसानहरु विस्तारै अल्छि हुदै गएको वताएका छन् । आफ्नो खेतवारी वाँझो राखेर हाट वजारमा तरकारी किन्न जाने चलन वढेको भन्दै कृषिमा आत्मनिर्भर हुन अल्छिपन हटाउनु पर्ने उनको भनाई थियो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनले बुधवार रत्ननगरको टरौलीमा आयोजना गरेको धान जोनको योजना तर्जुमा गोष्ठीमा जिसस प्रमुख डल्लाकोटीले खेतमा लगाईएको धान काट्न पनि तराईवासी कुर्ने चलन वढेको वताए । मर्निङ वाकको गर्ने चलनलाई हटाएर वाँझो खेतवारी खनेर उत्पादन गर्ने तर्फ ध्यान दिन उनले सुझाव दिए ।

कृषि पेशालाई आत्मसम्मानका साथ लिनुपर्ने समेत उनको भनाई थियो । कार्यक्रममा सहभागी किसानहरुले अनुदान प्रतिशत वढाउनु पर्ने,माटो परिक्षण गर्नु पर्ने,सामुहिक नर्सरी गर्नु पर्ने,उन्नत बीउको व्यवस्था गर्नु पर्ने लगायत माग राखेका थिए ।

उर्वरयुक्त जमिनको खण्डिकरण रोक्न सक्ने वनाउने,पूर्वाधारहरुको प्रवन्ध सहज रुपमा गराउने,युवाहरुको आकर्षण वढाउँदै नयाँ पुस्तामा प्रविधि हस्तान्तरण गराउने,कृषिमा पूर्ण रोजगारी सृजना गर्ने,माटोको गुणस्तर सुधार तथा स्वस्थ खाद्यवाली उत्पादन गर्नु लगायत लक्ष्य रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सीनाले वताए ।