अपहरणको नाटक गरेर आफ्नै बुबासँग फिरौति माग्ने प्रहरी नियन्त्रणमा

विराटनगर,२८ फागुन।

आफू अपहरण परेको नाटक गर्दै फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारी बस्ने शिवनारायण महतोका छोरा २४ वर्षीय मुकेशकुमार पक्राउ परेका हुन् ।

यही फागुन २३ गते आफू अपहरणमा परेको र सकुशल फिर्ता हुन रु ३० लाख चाहिने सूचनासहित बुबाको मोबाइलमा फोन आएको भनी जाहेरी परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । छोराको मायाले बुबा शिवनारायणले रु २१ लाख फिरौती दिए पनि अनुसन्धानबाट अपहरणको नाटक रच्ने मुकेशलाई प्रहरीले फागनु २६ गते सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको हो ।

फिरौती रकमसहित बूढीगङ्गा गाउँपालिका–३ निवासी हरिप्रसाद राजवंशीका छोरा २५ वर्षीय कृष्ण राजवंशीलाई प्रहरीले पक्राउ गरेको थियो । अपहरणको नाटकगर्ने योजनाकारसहित कृष्ण राजवंशीलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकारसमक्ष सार्वजनिक गरेपछि सबै तथ्य बाहिर आएको हो । प्रहरीले कृष्णबाट नगद रु १६ लाख ५३ हजार र रु तीन लाखको चेक पनि बरामद गरी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।