सुडानमा मृत्यु भएका प्रमुख सेनानी विष्टको शव ल्याउन उड्यो जहाज

काठमाडौं,२९ चैत्र

हृदयाघातका कारण ज्यान गुमाएका नेपाली सैनिक रिदेश विष्टको शव लिन श्री एयरलाइन्सको जहाज सुडानतर्फ उडान भरेको छ ।

९ महिनाअघि सुडान मिसन ‘स्टाफ अफिसर’ का रूपमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी विष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा गएको १७ गते शान्ति मिसनको ड्युटीकै क्रममा हृदयघात हुँदा ज्यान गएको थियो।

विष्टको शव लिन श्री एयरलाइन्सको ‘नाइन एन ए एमबी’ कलसाइनको जहाज सुडानको लागि उडेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

उनका अनुसार जहाज आइतबार विष्टको शव लिएर नेपाल आइपुग्ने छ। विष्टको शव ल्याउन संयुक्त राष्ट्रसंघको शान्ति मिसनले समन्वय गरेको पनि प्रवक्ता पाण्डेले बताए।

सैनिक मुख्यालय जंगी अड्डाको सिकायत जाँच निर्देशनालयमा दरबन्दी भएका विष्ट ललितपुर सानेपाका स्थायी बासिन्दा हुन् ।