
सर्लाही, चैत २९ ।
सर्लाहीका विभिन्न नेपाल–भारत नाकाबाट नेपालीहरु प्रवेश गर्नेक्रम चलिरहेको छ ।
नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएर गस्ती गरिरहे पनि उखुबारी, खेतका आली, खोलाबाट मानिसहरु नेपाल प्रवेश गर्ने गरेका हुन् ।
जिल्लाको चन्द्रनगर गाउँपालिकामा मात्र दुई दिनमा ५३ जना नेपाली नेपाल प्रवेश गरेका छन् ।
‘लकडाउन’ तोडेरै गाउँ आएकालाई सर्लाहीको चन्द्रनगरमा ‘क्वारेन्टाइन’मा राखिएको छ ।
सीमा क्षेत्रमा खटिएका ‘सुरक्षाकर्मीको आँखा छलेर’ गाउँ आइपुगेकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
शनिबार बिहानसम्म ५३ जना भारतबाट हिँडेरै गाउँ आइपुगेको सूचना पाएको र उनीहरु सबैको खोजी गरी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राख्ने काम गरिरहेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिएका छन् ।
उनकाअनुसार शुक्रबार बेलुकासम्म ४७ जना आएकोमा शनिबार बिहान ६ जना थपिएका हुन् ।