साल्ट ट्रेडिङको सहुलियत पसलबाट १२ हजार बढीले लिए लाभ

चितवन,२७ कात्तिक ।

साल्ट्र ट्रेडिङ कर्पाेरेशन नारायगणगढ शाखाले दशैँ, तिहार तथा छठलाई लक्षित गरी सञ्चालन गरेको सहुलियत पसलबाट १२ हजार बढीले लाभ लिएका छन् । असोज १५ गतेदेखि सञ्चालन भएको पसलबाट कार्तिक २६ गतेसम्म १२ हजार २२५ जनाले सेवा लिएको कर्पाेरेशनले जनाएको छ ।
कार्तिक २६ गतेसम्म ६० लाख ४२ हजार ४२० रुपैयाँ आम्दानी भएको साल्ट्र ट्रेडिङ कर्पाेरेशन नारायगणगढ शाखाका प्रमुख बुद्धिविनोद दाहालले बताए । यस अवधीमा ४८ हजार ६६२ केजी चिनी र २१ हजार ७६५ केजी आयो नून बिक्री भएको उनले बताए । चिनी र नूनबाट मात्रै ३७ लाख ९८ हजार ११० रुपैयाँ आम्दानी भएको छ । त्यस्तै, २२ लाख ४४ हजार ३१० रुपैयाँ बराबरको तेल, गेडागुडी, मसला, चामल लगायतका सामग्रीहरु बिक्री भएको उनले जानकारी दिए ।
कर्पाेरेशनले प्रतिव्यक्ती चिनी र नून बढीमा चार÷चार केजी मात्रै बिक्री गर्ने गरेको छ । सहुलितयत पसलबाट चिनी प्रतिकेजी ७० रुपैयाँ र नून प्रतिकेजी १८ रुपैयाँमा बिक्री भइरहेको छ । बाहिर बजारमा चिनी प्रतिकेजी ८० देखि ८५ रुपैयाँ र नून प्रतिकेजी २० देखि २५ रुपैयाँसम्म बिक्री हुने गरेको छ ।
अन्य सामानहरु पनि कर्पाेरेशनले सहुलियत मुल्यमा बिक्री गर्दै आएको छ । भोलि (शुक्रबार) एकदिन सञ्चालन भएर मंसिर ३ गते पसल पुनः खुल्नेछ । त्यसपछि मंसिर ६ गतेसम्म सञ्चालन हुने छ ।