भण्डारा माविले मनायो वार्षिकोत्सव, गुणस्तरीय शिक्षामा जोड
माघ २९ गते । राप्ती नगरपालिका ६ मा रहेको भण्डारा माध्यमिक विद्यालयले ५० औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधवार मनाएको छ । पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाईएको हो । सो अवसरमा पूर्वअर्थमन्त्री पाण्डेले सामुदायिक विद्यालयहरुले प्राविधिक शिक्षालाई प्राथमिकता दिनु पर्नेमा जोड दिए । दक्ष जनशक्ती उत्पादनका लागि प्राविधिक शिक्षालाई प्राथमिकता दिनु पर्ने उनको भनाई थियो । शैक्षिक गुणस्तर वृद्धी विना सामुदायिक विद्यालयको अवस्था सुध्रन नसक्ने भन्दै पूर्वअर्थमन्त्री पाण्डेले शैक्षिक विकासमा शिक्षक जिम्मेवार वन्नु पर्ने धारणा राखे । यही अवस्थामा सामुदायिक विद्यालय चल्न मुस्किछ पूर्वअर्थमन्त्री पाण्डेले भने – शैक्षिक गुणस्तरवृद्धीमा प्रमुख रुपमा शिक्षक र त्यसपछि विद्यार्थी र अभिभावक जिम्मेवार हुनुपर्छ । राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धीका लागि नगरपालिकाले प्रयास थालेको भन्दै सवैको साथ हुनु पर्ने औल्याए । कार्यक्रमका अन्य वक्ताहरुले भौतिक रुपमा सम्पन्न भएर मात्रै नहुने भन्दै शैक्षिक गुणस्तर वृद्धीमा ध्यान दिनु पर्ने सुझाव दिए । भण्डारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामवहादुर सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता पूर्ण वहादुर थापा,नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समिति संयोजक डिल्ली प्रसाद थपलिया,शिखर सामुदायिक वनका अध्यक्ष सिताराम वल,विष्णुहरी कडेंलले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोजराज अधिकारीले विद्यालयको शैक्षिक ,भौतिक अवस्थाका बारे जानकारी गराएका थिए । वार्षिकोत्सवका अवसरमा गोल्डेन हेन्सचेक लिएर वसेका तीन जना शिक्षक र सरुवा भएका एक जना शिक्षकलाई विदाई गरिएको थियो । सरकारले नमुना विद्यालय घोषणा गरेको भण्डारा माध्यमिक विद्यालयमा हाल ९ सय ७४ जना विद्यार्थी अध्ययनरत छन् ।