पोखरा-बागलुङ सडक चैत १ गतेदेखि दैनिक तीन घण्टा बन्द गरिने

पोखरा-बागलुङ सडक चैत १ गतेदेखि दैनिक तीन घण्टा बन्द गरिने

पर्वत,२९ फागुन ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत साविकको पोखरा बागलुङ सडकखण्ड चैत १ गतेबाट दैनिक तीन घण्टा बन्द गरिने भएको छ। सडक बिस्तार र स्तरोन्नतिको लागि केही ठाउँमा विस्फोटक पदार्थको प्रयोग गर्नुपर्ने भएका कारण सदरमुकाम कुस्माको खरेहादेखि चुवाको चाइनाचोकसम्म दैनिक तीन घण्टा घण्टा बन्द गर्ने निर्णय भएको हो। जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले मध्यान्ह १२ बजेदेखि अपराह्न ३ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको छ।

बम विस्फोट हरेक दिन नहुने भए पनि विस्फोटका प्वाल बनाउनको लागि सडक बन्द गरेर नै काम गर्नुपरेको ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनका इन्जिनियर विवेक रेग्मीले बताए। सडक बिस्तारका लागि भीर फोर्नुपर्ने भएको र विस्फोट बाहेकको विकल्प नरहेको कारण सडक अवरुद्ध गर्नैपर्ने भएको हो। ‘सडक बिस्तारको कामलाई रोक्न सक्ने अवस्था पनि भएन, यात्रुहरूको मर्का पनि बुझेका छौँ। विस्फोटको कामलाई सकेसम्म छिटो गरेर बाटो सुचारु गराउन भनेका छौँ।’

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले भनिन्, ‘यात्रु र सवारीको सुरक्षाका लागि नै यो निर्णय गरिएको हो।’ बाटो बन्द गरिएकै समयमा पर्वतकै मोदी गाउँपालिका ६ बेतनीमा पनि भीर कटानको काम हुने भएकाले सवारी साधन केहीबेर रोक्ने तथा छाड्ने गरेर सडक बिस्तारको काम गर्ने सहमति पनि बैठकमा भएको छ। मध्यपहाडी लोकमार्गमा पर्ने पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्स्ट्रक्सन प्रा।ली।ले जिम्मा लिएको छ। मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्ड लाई नयाँ स्वरूपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ। लोकमार्ग पुरै नयाँ स्वरूपमा बिस्तार र स्तरोन्नति गर्न चार वटा प्याकेज बनाएर काम भइरहेको छ।

२०५० सालमा निर्माण सम्पन्न भएको सडकका धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँ ठाउँमा जाम समेत हुने गरेको थियो। साँघुरो सडक र ठाउँ ठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो।